‘डोटीका शेर’ भनेर चिनिने आलेका लागि कैलाली–५ राजनीतिक यात्राकै सबैभन्दा ठूलो परीक्षा


काठमाडौं, फागुन ९ । २०५४ सालको स्थानीय निकाय निर्वाचनबाट औपचारिक चुनावी राजनीतिमा प्रवेश गरेका प्रेमबहादुर आलेमगर का लागि २०८२ सालको प्रतिनिधिसभा निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई यो उनको राजनीतिक यात्राकै सबैभन्दा ठूलो, चुनौतीपूर्ण र जोखिमपूर्ण चुनाव बनेको छ।

डोटी जस्तो सुरक्षित किल्ला जहाँबाट उनले २०७०, २०७४ र २०७९ का तीनवटै संसदीय निर्वाचन जित्दै ‘ह्याट्रिक’ गरेका थिए। त्यसलाई छाडेर उनी कैलाली–५ बाट चुनावी मैदानमा उत्रिएका छन्।

डोटीको साविक छतिवन गाविस–९ रुपसकाँडामा २०२८ सालमा जन्मिएका आलेले २०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए। तर २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको नौ महिनाको सरकारका कामबाट प्रभावित हुँदै उनी कम्युनिस्ट धारतर्फ आकर्षित भए।

२०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सदस्य निर्वाचित भएपछि उनको राजनीतिक उकालो सुरु भयो। एमाले डोटी जिल्ला कमिटी सदस्य, दुई कार्यकाल उपसचिव, आठौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुँदै नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यसम्मको यात्रा उनले तय गरे।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट संसदीय राजनीतिमा प्रवेश गरेका आलेले २०७४ सालमा वाम गठबन्धनको समर्थनमा शानदार जित दोहोर्याए। २०७९ सालमा एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) बाट ‘कलम’ चिन्ह लिएर डोटीमै जित निकाल्नु उनको व्यक्तिगत लोकप्रियताको बलियो प्रमाण मानिन्छ।

कैलाली–५ सुदूरपश्चिमकै ‘हट सिट’ मानिन्छ। यहाँ अघिल्ला निर्वाचनमा आरजु राणा देउवा, नारद मुनि राना र पुष्करनाथ ओझा जस्ता प्रभावशाली नेताबीच प्रतिस्पर्धा भइसकेको छ। २०७९ सालमा कांग्रेसका डिल्ली राज पन्त ले झिनो मतान्तरले एमालेका नारद मुनि रानालाई पराजित गरेका थिए।

यसपटक प्रतिस्पर्धा झनै पेचिलो छ। एमालेका यज्ञराज ढुंगाना बलियो संगठनसहित मैदानमा छन्। कांग्रेसबाट नर नारायण शाह पार्टीको विरासत जोगाउने प्रयासमा छन्। रास्वपाले आनन्दबहादुर चन्द लाई सहरी मत तान्ने रणनीतिसहित अघि सारेको छ।