पशुपतिमा जोगीसँग वादविवाद : चिम्टा प्रहारबाट एक युवकको हत्या, २ जना पक्राउ


काठमाडौं, फागुन ९ । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरीको हत्या अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौं पशुपति बस्ने ४८ वर्षीय नीरज नाथ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाको प्रारम्भीक अनुसन्धानमा मृतक गिरीलाई नीरजनाथसमेतको बाबा समूहले वादविवादका क्रममा चिम्टालगायतका वस्तुले आक्रमण गरेर हत्या गरेको हो ।

मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।