एमालेको झण्डा जलाएको आरोपमा तीन जना पक्राउ, आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौं, फागुन ९ । दाङको तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले झण्डा जलाएको आरोपमा तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो ।

प्रहरीले यसअघि शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार एमालेको झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ ।

बिहीबार राति साढे ९ बजे दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको झण्डा जलाएका थिए । त्यो भिडियो सार्वजनिक भएपछि प्रहरीले एमाले झण्डा जलाउनेको खोजी थालेको थियो ।

रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि निर्वाचन आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको छ।