काठमाडौं, ९ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा पूर्व सांसद प्रेम सुवालले यो पटकको निर्वाचनमा देशैभरि मादल बज्ने बताएका छन् । नेपाली जनताको अभिलेखमा सत्तामा बसेकाहरुको कर्मको हिसाबकिताब रहेको उनको भनाई छ ।
उनले भने,‘अब प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भएकाहरु, ३५ वर्ष भयो, कोही पाँच पटक, चार पटक, तीन पटक, दुई पटक, यसरी प्रधानमन्त्री, मन्त्री खानेहरुले देशलाई २८ अर्ब ऋण, वर्षको १५ खर्ब व्यापार घाटा, महिला दिदि बहिनीहरु विदेशको सडकमा एकदमै अपमानित भएर बस्नु परेको छ, अब एउटै विकल्प मादल । अहिले १२० क्षेत्रमा हाम्रा उम्मेदवार हुनुहुन्छ । समानुपातिकमा १०९ जना उम्मेदवार हुनुहुन्छ । प्रत्यक्ष र समानुपातिकतर्फ सबभन्दा बढि महिला उम्मेदवार हुनुहुन्छ । नेपाली जनतालाई थाहा छ कि अब विकल्प नै मादल हो । मादलले देश र जनताको निस्वार्थ सेवा गरेको छ । विदेशीलाई नागरिकता दिने विद्येयकको विरोध गर्ने पार्टी पनि नेमकिपाले गरेको छ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले नेमकिपाले सरकारमा भएकाहरुले देशघाती काम गरेपछि खबरदारी गरेको स्मरण गराए । उनले यो निर्वाचनमा नेमकिपाका सबै उम्मेदवारलाई जनताले मत दिने विश्वास दिलाए ।
उनले अहिलेको निर्वाचनमा नेपाली जनताले नेमकिपालाई मत दिने विश्वास दिलाए । उनले भने,‘नेपाली जनताले हाम्रो पार्टीलाई माया गर्नुहुन्छ । अब पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएकाहरुलाई मत गयो भने देश भड्खालोमा जान्छ ।’




प्रतिक्रिया