इनरुवा (सुनसरी), १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी, कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पौडेलले बताए । जिल्लामा दुई हजार बढी अस्थायी मतदाताको तथ्याङ्क रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको खटनपटन भएपछि अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत हुने भएकाले सङ्ख्या थपघट हुनसक्ने जनाइएको छ ।
अस्थायी मतदातालाई प्रत्यक्षतर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी कोशी प्रदेशमा जिल्लागत आधारमा अस्थायी मतदान केन्द्र तोक्दा निर्वाचनका लागि २८ अस्थायी निर्वाचन क्षेत्र र अस्थायी मतदाता तोकिएको छ । रासस




प्रतिक्रिया