दाङ–२ मा नेविसंघ अध्यक्ष शेर्पाद्वारा कांग्रेस उम्मेदवार घिमिरेका पक्षमा मतदानको अपील


दाङ, १० फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दाङ क्षेत्र नम्बर–२ मा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरे का पक्षमा मतदानको अपील गरेका छन् ।

घर–घर पुगेर मतदातासँग कुरा गर्दै अध्यक्ष शेर्पाले अहिलेको निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको मजबुती, संघीय संरचनाको कार्यान्वयन र देशको दीगो विकासका लागि निर्णायक अवसर भएको बताए। उनले भनाइ राख्दै देशको राजनीति हाल अस्थिर र चुनौतीपूर्ण अवस्थामा रहेको जिकिर गरे। “राजनीतिक द्वन्द्व, असहिष्णुता र अवसरवादले लोकतन्त्र कमजोर बनाइरहेको छ। यस्ता परिस्थितिमा जनताको विकासमुखी र जिम्मेवार नेतृत्व अत्यावश्यक छ,” उनले भने।

शेर्पाले दाङ–२ का मतदातालाई स्थानीय विकाससँगै राष्ट्रिय राजनीतिक स्थिरता र सुधारलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरे। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने नेतृत्यमै विश्वास गरिनुपर्ने बताए।

स्थानीय र राष्ट्रिय राजनीतिक चुनौतीबीच नेविसंघको समर्थनले कांग्रेस उम्मेदवारको अभियानलाई थप बल पुगेको छ। अध्यक्ष शेर्पाले युवाहरूलाई सचेत र विवेकपूर्ण मतदान गर्न आग्रह गर्दै भने, “स्थानीय नेतृत्व र राष्ट्रिय राजनीति दुवैलाई सन्तुलित राख्ने मतदाता नै देशलाई स्थिर र समृद्ध बनाउने आधार हुन्।”