अजयबाबु शिवाकोटीले सार्वजनिक गरे प्रतिबद्धता पत्र [पूर्णपाठ]


दोलखा, १० फागुन । नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । दोलखाको धरामा जन्मिएका शिवाकोटी सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका हुन् भने उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी ‘माल्दाइ’ यस क्षेत्रकै विशिष्ट शिक्षासेवी र राजनीतिज्ञका रूपमा परिचित थिए ।

आफ्ना हजुरबुबाको पदचाप पछ्याउँदै पत्रकारिताको सफल पेशालाई विश्राम दिएर राजनीतिमा होमिएका शिवाकोटीले छोटो समयमै कांग्रेसको केन्द्रीय सदस्य जस्तो सम्मानित पदमा पुगेर आफ्नो इमान र निष्ठा प्रमाणित गरिसकेका छन् ।

व्यावसायिक मर्यादामा सम्झौता नगर्ने स्वभावका उनले दोलखाली जनताको भाग्य र भविष्य निर्माणको गहन जिम्मेवारी उठाउने संकल्पका साथ घरदैलो अभियान शुरू गर्दै ‘अजयको विजय, दोलखालीको जय’ भन्ने मूलमन्त्र अघि सारेका छन् ।

शिवाकोटीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा दोलखाको पूर्वाधार विकासका लागि लामोसाँगु-जिरी सडकको स्तरोन्नति र लामाबगर-तिब्बत नाका खोल्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । उनले दोलखा जोड्ने सुरुङ मार्ग र अलपत्र ठूला आयोजनाहरूको प्राविधिक तथा आर्थिक सुनिश्चितताका लागि पहल गर्ने उल्लेख गर्दै जिल्लाको सडक सञ्जाललाई व्यवस्थित बनाउन रिङरोडको अवधारणालाई पूर्णता दिने विश्वास दिलाएका छन् ।

पर्यटनको क्षेत्रमा नयाँ क्षितिज उघार्ने लक्ष्यका साथ उनले जिरी र शैलुङलाई अन्तर्राष्ट्रिय स्तरको उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र कालिञ्चोकदेखि च्छो-रोल्पा र लप्चीसम्म एकीकृत पर्यटन गुरुयोजना बनाउने योजना प्रस्तुत गरेका छन् । खरिढुङ्गा क्षेत्रको डाङडुङ्गे डाँडामा फिल्म नगरी निर्माण गरी अन्तर्राष्ट्रिय सुटिङ थलो बनाउने र दोलखाको अध्यात्मलाई विश्वसँग जोड्न भीमसेन तथा रामायण ‘रिलिजियस सर्किट’को अवधारणा कार्यान्वयन गर्ने उनको संकल्प छ।

धार्मिक र सांस्कृतिक पर्यटनसँगै शिवाकोटीले कृषि र पशुपालनलाई दोलखाको गौरवका रूपमा परिभाषित गर्दै ‘एडप्ट अ फार्म’ नीति र डिजिटल कार्ड प्रणालीमार्फत किसानलाई बिचौली मुक्त बजार र आम्दानीको ग्यारेन्टी गर्ने बताएका छन् । उनले खरिढुङ्गाको म्याग्नेसाइट र आलम्पुको ढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई शेयर र रोजगारी दिने तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन् ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा चरिकोट अस्पताललाई आधुनिक रिफरल हस्पिटल बनाउने, प्राविधिक शिक्षामा जोड दिँदै प्रत्येक स्थानीय तहमा आवासीय विद्यालय सञ्चालन गर्ने र आईटी तथा हाइड्रो इन्जिनियरिङ एकेडेमी स्थापना गर्ने उनको प्रतिबद्धता छ । युवाहरूलाई स्वदेशमै भविष्य देखाउनका लागि स्टार्टअप सपोर्ट, बिना धितो ऋण, र जिल्लाभर फ्रि-वाइफाई तथा डिजिटल हबको व्यवस्था गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने उनको लक्ष्य रहेको छ।

जलविद्युतको भण्डार मानिने दोलखामा ‘जनताको पानी, जनताकै लगानी’ अभियान सञ्चालन गर्दै जलविद्युत रोयल्टीको कम्तीमा ५० प्रतिशत हिस्सा जिल्लाकै शिक्षा र स्वास्थ्यमा खर्च गराउने शिवाकोटीको प्रमुख नीतिगत एजेन्डा रहेको छ । माथिल्लो तामाकोशी आयोजनाको लागत वृद्धिको सत्यतथ्य सार्वजनिक गर्ने, विद्युत खरिद सम्झौता पुनरावलोकन गर्ने र खिम्ती जलविद्युत आयोजनामा जिल्लाबासीको शेयर लगानी सुनिश्चित गराउन उनले विशेष पहल गर्ने बताएका छन् ।

साथै लोपउन्मुख सुरेल र थामी जातिको विकासका लागि अन्तर्राष्ट्रिय अध्ययन केन्द्र तथा सांस्कृतिक ग्राम निर्माण गर्ने र खेलकुद विकासका लागि जिल्लाभर हरियो घाँसे मैदान र हाइ अल्टिच्युड एकेडेमी बनाउने उनको मार्गचित्रमा उल्लेख छ।

वर्तमान राजनीतिक अस्थिरता र कुशासन विरुद्ध ‘सुधारिएको कांग्रेस’ र सक्षम नेतृत्वको आवश्यकता औँल्याउँदै शिवाकोटीले आफू संसद्मा केवल संख्या बन्न नभई दोलखालीको आवाज बन्न र राष्ट्रिय नीतिमा यहाँका समस्यालाई समेट्न उभिएको प्रष्ट पारेका छन् ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै जनताप्रति उत्तरदायी सरकार बनाउन र दोलखाका एजेन्डालाई राष्ट्रिय प्राथमिकतामा पार्न आफू निरन्तर लागिपर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

शिवाकोटीले फागुन २१ को निर्वाचनमा आफूलाई अमूल्य मत दिएर दोलखाको बहुआयामिक सुदृढीकरणको नेतृत्व गर्ने अवसर दिनुहुन सम्पूर्ण मतदाताहरूमा हार्दिक अपील गर्दै आफूले देखाएका सपनाहरू वाचा मात्र नभई काम गरेर देखाउने संकल्प दोहोर्‍याएका छन् ।

यस्तो छ उनको प्रतिबद्धता पत्रः

अजयबाबु शिवाकोटीको सङ्कल्प
दोलखाको कायाकल्प
आदरणीय दोलखाबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ,
जय नेपाल
सर्वप्रथम हामीलाई लोकतन्त्रको सुन्दर फूलबारी सुम्पने ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण शब्दश्रद्धा अर्पण गर्छु। यस अवसरमा हाम्रो माटोले जन्माएको देशकै आदर्श लोकतन्त्रवादी नेता भिमबहादुर तामाङलाई सम्झन चाहन्छु ।

भनिन्छ- पीडाले पछि, चिन्ताले अघि र आशाले माथि हेर्छ । हत्केलाभन्दा अगाडि औंला किन हुन्छ ? उत्तर स्पष्ट छ- सफलताका लागि भाग्यभन्दा पहिला मेहनत चाहिन्छ ।

राजनीतिका नाममा आश्वासनका थुप्रै घनचक्कर काट्न बाध्य हुनुपर्यो । हाम्रा श्यामश्वेत आँखामा अनगिन्ती रंगिन सपना देखाइए । मतदानका क्षणसम्म रहेको नागरिक आफैँले बनाएका जनप्रतिनिधि अघिल्तिर निरीह हुनुपर्ने बाक्लै दृश्य देखिए ।

च्यातिएको भाग्य सिलाउने र छरिएका रहर मिलाउँदैमा मतदाताले आफ्ना जुनी फाल्नुपर्ने अवस्था आयो । नीतिहरुको राजा राजनीतिले लय नलिँदा असन्तुष्टिको लाभाले देश क्षतविक्षतको अवस्थामा पुग्यो । अहिले हामी सम्हालिएका छौं। राजनीतिले सकारात्मक लय लिएको छ । विगतबाट पाठ सिकेर आगत फलदायी बनाउने महाअभियान स्वरुप यतिबेला चुनावी माहोल सकारात्मक मोडमा पुगेको छ । मैले प्रतिनिधित्व गर्ने पार्टी इतिहासको त्यो सुनरूपी विरासतमा युवापुस्ताको सुगन्ध बोकेर आएको छ ।

जाडो छल्न साइबेरियाबाट आएको चराले पनि फुलबाट बच्चा हुर्काएर आफ्नो गन्तव्यमा लिएर गएजस्तै तपाईंहरुको परिवारको सदस्य सुखदुखको साथी भएर म आएको छु । मलाई दोलखाको माटोले सिकाएको सत्य के हो भने जुन मुस्किलले पाइन्छ, त्यो इज्जत हो, जुन हृदयबाट पाइन्छ, त्यो प्रेम हो र जुन भाग्यले पाइन्छ त्यो मित्रता हो ।

पुर्खाको आहान त्यसै बनाएको होइन- जति गहिरो कवा उति मीठो जल, जति धेरै दुख, उति मीठो फल। आज समाजमा आँखा छ दृष्टिकोण छैन, शरीर छ, स्वास्थ्य छैन, सन्तान छ, सन्तोष छैन, शिक्षा छ, ज्ञान छैन, सपना छ यथार्थ छैन, वृद्धि छ विवेक छैन, प्रार्थना छ, विश्वास छैन, जिउ छ जाँगर छैन, सबथोक छ, खसी छैन। नदीको पानी मीठो हुन्छ किनकी ‘उ दिइरहन्छ, समुन्द्रको पानी नुनिलो हुन्छ किनभने उ हमेशा लिइरहन आनन्द मान्छ । हो, अब राजनीतिलाई खोलाको बाटोमा फर्काउनु छ।

तपाईंहरूबाट पाएको भरमा उभिएर म त्यो चुनौती व्यहोर्न चाहन्छु । गौरीशंकरजस्तै उच्च साहस बोकेर दोलखाबासीलाई समुन्नत बनाउने महायज्ञमा चरू थप्न मेरो उत्कट अभिलाषा छ । ‘समुन्नत, सुरक्षित र स्वावलम्बी दोलखा’ मातृभूमिप्रतिको ऋण चुकाउने मेरो संकल्प यात्रा हो ।

१. वर्तमान परिस्थिति र हाम्रो दायित्व

२०७९ सालमा हामीले उत्साहका साथ प्रतिनिधि सभा निर्वाचन मार्फत आफ्ना प्रतिनिधिहज्ञचयन गर्यो । तर, राजनीतिक अस्थिरता र नेतृत्वको स्वार्थका कारण जनमतको अपमान भयो । भदौ २३ को जेन्जी विद्रोह, २४ गतेको बिध्वंश र त्यसपछिको संसद विघटनले एउटा कुरा प्रष्ट पायो – ‘पुरानै शैली र पात्रबाट अब परिवर्तन सम्भव छैन’ । नागरिकमा छाएको नैराश्य, कुशासन र भ्रष्टाचार विरुद्ध अब ‘सुधारिएको कांग्रेस’ र ‘सक्षम नेतृत्व’ जरुरी छ । त्यसैको जगमा टेकेर मुलुकको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी र जनताले सधैं भरोसा र माया गर्ने पार्टी नेपाली कांग्रेसलाई बदलेर अब देश बदल्ने हुटहुटी सहित ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने प्रतिज्ञा सहित म यही परिवर्तनको एजेण्डा बोकेर, विगतका गल्ती सच्याउने र भविष्य सुनिश्चित गर्ने वाचाका साथ तपाईंको प्रतिनिधि बन्न उभिएको छु ।

२. मेरो भूमिका

धेरैलाई लाग्न सक्छ, सांसदको काम सडक खन्ने वा पाइप बाँड्ने मात्र हो । तर, म प्रष्ट छु- सदनमा दोलखाका हरेक नागरिकको आवाज बन्ने मेरो संकल्प छ । म संसदमा केवल संख्या बन्न जाने होइन । दोलखाका पीडा, यहाँका किसानका समस्या र यहाँको सम्भावनालाई राष्ट्रिय नीति र कानुनमा रुपान्तरण गर्न चाहन्छु ।

३. जवाफदेही सरकार

सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र दोलखाका विकास र एजेण्डालाई ‘राष्ट्रिय प्राथमिकता’ मा पार्न म निरन्तर दबाब दिनेछु । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र राज्यका सेवाहरूलाई पारदर्शी बनाउन मेरो भूमिका केन्द्रित हुनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपश्चात आम दोलखाली नागरिकहरुको सहज पहुँचका लागि दोलखामै सांसदको कार्यालय सञ्चालन गरिने छ ।

४. मेरो विकासको ‘रोडम्याप’

म चुनावका क्रममा यहाँहरुको घरदैलोमा आउँदै गर्दा आश्वासनका पोका मात्र बाँड्न चाहन्न । मेरो त्यो बानी कहिल्यै भएन र हुँदैन पनि । गाउँघर, टोल र बस्तीका साझा समस्या अनि हरेक नागरिकका समस्यामा सांसद पदमा रहुन्जेल काम गर्ने नै मेरो प्रतिवद्धतामा म कहिल्यै पछि हट्ने छैन भनेर यहाँहरु समक्ष प्रतिज्ञा गर्दछु । सिंगो दोलखाको विकासका लागि तत्काल गर्नैपर्ने केही प्रमुख कार्यहरु छन् । जुन मेरा लागि सधैं प्राथमिकतामा पर्ने नै छन् ।

क) सडक र पूर्वाधार : दोलखाको ‘लाइफलाइन’

लामोसाँगु-जिरी सडकको दुर्दशाले हामीलाई धेरै पछाडि धकेल्यो। मेरो पहिलो प्राथमिकता यो सडकको गुणस्तरीय स्तरोन्नति र समयमै सम्पन्न गराउनु हुनेछ । साथै, लामाबगर- तिब्बत नाका खोल्ने प्रक्रियालाई तीव्रता दिई दोलखालाई चीन र भारत जोड्ने व्यापारिक केन्द्र बनाउन म लाग्नेछु ।

दोलखा जोड्ने सुरुङमार्गको परिकल्पनालाई नारामै सीमित नराखी, प्राविधिक र आर्थिक सुनिश्चितताका लागि पहल गर्नेछु । अलपत्र ठूला पुल तथा सडक आयोजनालाई समयमै सम्पन्न गर्नका लागि सरकारका निकाय र सम्बन्धित सरोकारवालासँगको पहल मेरो प्राथमिकता हुनेछ ।

२०४९ सालमा तत्कालीन कांग्रेस नेतृत्वको जिल्ला विकास समितिले खोलेका सडक विकासका ढोकाहरुले नै अहिले बिस्तारै सार्थकता पाउँदैछ । हामी सबै सडकहरुलाई व्यवस्थित सहित कालोपत्रे र त्यसबेलाको जिल्ला विकास समितिले कोरेको दोलखाको रिङरोड अवधारणालाई हामी अलकत्रे सडकमा सिंगै जिल्ला फन्को मार्ने गरी पुरा गर्न चाहन्छौं ।

ख) पर्यटनको नयाँ क्षितिज

जिरी – शैलुङ स्पोर्ट्स हबः जिरी र शैलुङको भौगोलिक उचाइलाई प्रयोग गरी ‘अन्तर्राष्ट्रिय उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र’ (High Altitude Training Center) निर्माणको नीति अघि बढाउने ।

कालिञ्चोक, भीमेश्वर, शैलुङ मात्र होइन, च्छोरोल्पादेखि लप्चीसम्म, विगुदेखि देउलाडेश्वर हुदै च्योर्दुङ सम्म जोड्ने गरी एकीकृत पर्यटन गुरुयोजना बनाइनेछ । च्छो-रोल्पा हिमताल र रोल्वालिङ उपत्यका साहसिक पर्यटनका लागि अन्तर्राष्ट्रिय स्तरमा चिनिँदै छ ।

जिरी, च्योदौङ, हनुमन्ते, जट्टापोखरी, लप्ची गुम्बा, रोल्वालिङ उपत्यका, लामाबगर, विगु गुम्बा, देउलाङ्गेश्वर, महाकाल मन्दिर, सुन्द्रावती कुण्ड, गाईखुरा महादेव, रामबोले मन्दिर, खरिढुंगा क्षेत्र-यी सबै दोलखाका सम्पत्ति हुन् । अब आवश्यकता छ-यी सबैलाई जोड्ने एकीकृत पर्यटन विकासको दृष्टिकोण। मैले यहाँ उल्लेख गर्न नभ्याएका अरू थुप्रै पर्यटकीय तथा धार्मिक स्थलहरु जिल्लाभरी छन, तिनीहरुको विकास नै मेरो प्राथमिकता रहनेछ ।

खरिढुंगा क्षेत्रको डाङडुङे डाँडामा फिल्म नगरी निर्माणको बृहत्त परियोजनामा लगानीकर्ता भित्र्याएर यो क्षेत्रलाई कलिउडसंगै हलिउड र बलिउडको सुटिङ गर्ने प्रमुख थलो बनाउनु छ।

ग) धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध दोलखा देखि महाभारतसम्मको ‘ग्रेटर सर्किट’

“दोलखाको अध्यात्मलाई विश्वसँग जोड्ने हाम्रो संकल्प”
दोलखा केवल एउटा जिल्ला मात्र नभई प्राचिन सभ्यताको उद्गमस्थल सहितको जीवन्त सङ्ग्रहालय पनि हो । महाभारत र रामायणकालीन सभ्यतासँग जोडिएका यहाँका पवित्र स्थलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आन्तरिक र बाह्य तीर्थयात्री र पर्यटकहरूको प्रमुख गन्तव्य देखी गन्तव्य बनाउन हामी निम्न ‘सर्किट’ अवधारणालाई मूर्त रूप दिनेछौं:

महाभारतको विजयसँग जोडिएका दोलखा भीमसेनलाई छिमेकका प्रसिद्ध महाभारतकालीन स्थलहरू (जस्तैः कुरुक्षेत्र, हस्तिनापुर, मानागाउँ, भीमपूल, नेचुङ) सँग जोड्ने गरी विशेष “भीमसेन रिलिजियस सर्किट” को अवधारणा कार्यान्वयन गरिनेछ ।
दोलखामा रहेका रामायणकालीन इतिहास बोकेका धार्मिक स्थलहरूलाई भारतको अयोध्या र जनकपुर धामसँग समन्वय गरी ‘रामायण तथा सितायाण सर्किट’ मा समावेश गर्न बिशेष पहल गरिनेछ । समग्रमा दोलखामा पर्यटकलाई एक रात मात्र राख्ने होइन, कम्तिमा एक हप्ता दोलखामा भुल्ने वातावरण र पूर्वाधार निर्माणका लागि पहल गर्न मेरो प्रतिवद्धता रहनेछ ।

घ) होमस्टे र स्थानीय रोजगारी

पर्यटनको लाभ ठूला होटलसंगै गाउँका साना साहुजी र गृहिणीको गोजीसम्म पुग्ने मोडल कार्यान्वयन गर्नुपर्नेछ भन्ने मेरो दृष्टीकोणमा म सधैं अडिग छु ।

ङ) कृषि क्रान्ति र बजार ग्यारेन्टी

दोलखा एग्रो-कनेक्ट (Adopt a Farm): ‘एडप्ट अ फार्म’ नीति लागू गरी दोलखाको बाँझो जमिनलाई प्रविधिमार्फत सहरिया लगानीकर्तासँग जोड्ने र किसानलाई खेती सुरू गर्नुअघि नै आम्दानीको ग्यारेन्टी गर्ने । बिचौलिया मुक्त बजारः डिजिटल लंजिस्टिक र ‘एग्रो-पुलिङ’ प्रणालीमार्फत दोलखाको आलु, किवी र छुर्पी सिधै काठमाडौँका उपभोक्तासम्म पुऱ्याई किसानको नाफा सुरक्षित गर्ने ।

दोलखाको कृषि र पशुपालन हाम्रा गौरव हुन्। किसानलाई मल र बीउको लाइनमा बस्नुपर्ने `अवस्था अन्त्य गर्न ‘डिजिटल कार्ड’ प्रणालीको वकालत गर्नेछु । किसानद्धारा उत्पादितवस्तुहरूको खरिद र बजारिकरणमा स्थानीय तहहरूको प्रत्यक्ष संलग्नता गराउनका लागि मेरो पहल रहनेछ । दोलखा जिल्लाका हाम्रा उत्पादनलाई काठमाडौं र तराईका शहरसँग जोड्न ‘कोल्ड स्टोरेज’ र संकलन केन्द्रहरूको सञ्जाल बिछ्याउन र कृषि एम्बुलेन्स समेतको व्यवस्था गर्न मेरो प्रमुख जोड रहनेछ । साथै ग्रामिण क्षेत्रमा सञ्चालि सहकारी संस्थाहरूको विकास तथा त्यस क्षेत्रका समस्या समाधानमा अधिकतम पहलकदमी गरिने छ ।

च) खानी र प्राकृतिक स्रोतको सदुपयोग

खरिढुंगाको म्याग्नेसाईट र आलम्पुको ढुंगा खानी वर्षौंदेखि अलपत्र छन् । यी स्रोतहरूलाई वातावरणमैत्री ढंगले उत्खनन गरी स्थानीयलाई नै शेयर र रोजगारी दिने नीति बनाउन म केन्द्रित हुनेछु । हाम्रा जडिबुटी विदेशमा कच्चा पदार्थ मात्र भएर जाँदैनन्, दोलखामै प्रशोधन केन्द्र स्थापनाका लागि लगानी भित्राइनेछ ।

छ) स्वास्थ्य र शिक्षामा पहुँच

प्राविधिक शिक्षा र रोजगारीः दोलखामा ‘आईटी र हाइड्रो इन्जिनियरिङ एकेडेमी’ स्थापना गरी युवाहरूलाई जिल्लाकै जलविद्युत आयोजना र ग्लोबल रिमोट काममा दक्ष बनाउने ।

चरिकोट अस्पताललाई आधुनिक सुविधायुक्त ‘रिफरल हस्पिटल’ बनाउन मेरो प्रमुख पहल रहनेछ। गाउँ-गाउँका स्वास्थ्य चौकीमा जनशक्ति र औषधिको अभाव हुन नदिन दोलखाका. सबै स्थानीय, प्रदेश र केन्द्र सरकारसंग पहल गर्न मेरो भूमिका रहनेछ । हाम्रा छोराछोरीले गुणस्तरीय शिक्षाकै लागि शहर पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्न दोलखाका विभिन्न भूभागमा प्राविधिक कलेज खोलेर प्राविधिक शिक्षामा जोड दिन मेरो पहल रहनेछ । जिल्लाका ९ वटै स्थानीय तहमा एक पालिका एक आवाशिय विद्यालय सञ्चालन गरिने छ ।

ज) युवा र रोजगारी : ‘स्वदेशमै भविष्य’

आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । यो राष्ट्रिय संकट हो। म युवा उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा र नवप्रवर्तन कोष स्थापना गर्न संसदमा सशक्त आवाज उठाउनेछु । दोलखामै आइटी पार्क र साना उद्योगको विस्तार मेरो सपना हो ।

झ) फ्री वाइफाइ र डिजिटल हब

जिल्लाका मुख्य केन्द्रहरूमा ‘लर्निङ सेन्टर’ र ‘डिजिटल हब’को स्थापनाका लागि मेरो पहल रहनेछ । विद्यालय स्तरमा कन्टेन्ट क्रिएसनका लागि विद्यार्थीहरुलाई ग्राफिक्स डिजाइनिङ र भिडियो इडिटिङका सीपहरु प्रदान गर्ने कार्यक्रम गर्ने मेरो चाहना छ ।
व्यवसायमा एआई र विद्यार्थी कार्यक्रम संचालन गरी पढ्दै कमाउदै कार्यक्रमको वातावरण बनाउन मेरो पहलकदमी रहनेछ ।

ञ) स्टार्टअप सपोर्ट

युवाहरूलाई आफ्नै जिल्लामा उद्यम गर्न ‘बिना धितो ऋण’ र ‘सीप विकास’का कार्यक्रम सञ्चालनका लागि नीतिगत रुपमा व्यवस्था गर्न म सशक्त आवाज उठाउनेछु ।

रिभर्स माइग्रेसन प्रोत्साहनः विदेशबाट फर्केका युवाहरूलाई दोलखामै स्टार्टअप सुरु गर्न ‘सिड फन्ड’ (Seed Fund) र ५ वर्षसम्म कर छुटको कानुनी व्यवस्था मिलाइने छ ।

ट) आईटी पार्क र फ्रि- ल्यान्सिङ

दोलखाका युवाहरूलाई घरमै बसेर विश्व बजारमा काम गर्न सक्ने वातावरण निर्माण गर्न दोलखाका सबै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मार्फत दोलखामा विशेष कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछु ।

ठ) एकीकृत जिल्ला विकास

दोलखाका स्थानीय तह र जिल्ला समन्वय समितिको सभाद्धारा पारित गरिएका विकासका योजना परियोजनाहरु बोकेर सम्बन्धित निकायका ढोका ढक्ढक्याउने जिम्मेवारी पुरा गर्नेछु ।

ड) उर्जा तथा जलस्रोत

जलविद्युतको भण्डार भनेर चिनिने दोलखामा सञ्चालित जलविद्युत आयोजनाहरुलाई व्यवस्थित र आम जिल्लाबासी नागरिकहरुको पहुँचयोग्य बनाउन जनताको पानी जनताकै लगानी भन्ने नाराका साथ जलस्रोत र उर्जा क्षेत्रको विकासका लागि नागरिकमैत्री जलविद्युत विकास अभियान सञ्चालन गर्नेछु ।

हाइड्रो-रोयल्टीमा अधिकार : जलविद्युत रोयल्टीको कम्तिमा ५०% हिस्सा अनिवार्य रूपमा दोलखाकै शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च हुने गरी संघीय संसदबाट नीतिगत सुनिश्चितता गर्न प्रयास गर्ने छु । सबै जलविद्युत आयोजनाहरुमा आबश्यक पर्ने सबै प्रकारका जनशक्ति सम्बन्धित स्थानीय क्षेत्रबाटै परिपुर्ती गराइ रोजगारी शिर्जना गर्न कानुनी रुपमै पहल कदमी लिनुका साथै आयोजना निर्माणका लागि निश्चित प्रतिशत मात्र नभै सकेजति स्थानीय नागरिकले लगानी गर्न पाउने व्यवस्था नितिगत रुपमै गराउन पहल गर्ने छु ।

माथिल्लो तामाकोसी आयोजनाको लागत इष्टिमेट भन्दा झण्डै तीन दोब्बर अस्वभाविक लागत वृद्धि भएको र तमाम दोलखा जिल्लाबासीमाथी भएको विभेद र कुठाराघात प्रति उक्त आयोजनाबारे अध्ययन गरि सत्य तथ्य सार्वजनिक गर्न प्रयास गरिने छ ।

माथिल्लो तामाकोसी आयोजनाको विद्युत खरिद सम्झौतामा नेपाल विद्युत प्राधिकरणले प्रति युनिट निजि लगानीको विद्युत भन्दा ५० प्रतिशत कम मात्रै मुल्य रहेकाले माथिल्लो । तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पिपिए पुनरावलोकन गर्न सरकारकै तर्फबाट पहल गराउन प्रयत्न गर्ने छ । यस आयोजनामा लामो समयदेखि विद्यमान रहेको कर्मचारीहरुको समान अवसर र सुविधाको विभेदबारे आवश्यक अध्ययन गरि समान गराउन ठोस पहलकदमी लिइनेछ ।

साथै जिल्लाभर सञ्चालित अन्य जलविद्युत आयोजनामा कार्यरत कर्मचारीहरुको हकहितका लागि पनि नीतिगत रुपमा ठोस पहल गरिने छ । हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको खिम्ति जलविद्युत आयोजनामा नेपाल सरकारले ग्रहण गर्ने स्वामित्वबारे वर्षौंदेखिको अलमल र ढिलाइलाई अन्त्य गरि तत्काल अर्को संयुक्त कम्पनी निर्माण गरि स्वामित्व ग्रहण गर्न जननिर्वाचित सांसद भएको खण्डमा अधिकतम पहल प्रयत्न गर्ने छु । उक्त आयोजनामा जिल्लाबासीलाई अधिकतम शेयर लगानी गर्ने वातावरण बनाउन केन्द्रित हुने छु ।

दोलखालीहरूलाई अपनत्व महसुस हुने गरि तामाकोसी तेस्र जलविद्युत आयोजनालाई पुर्ण क्षमतामा उत्पादन गर्न पहल गर्ने छु । सम्भाब्यता अध्ययन भैसकेका र भैरहेका अधिकांस जलविद्युत आयोजना निर्माणका लागि प्रवर्द्धकहरुलाई प्रोत्साहन गरि आयोजना निर्माणकार्य अघि बढाउन अधिकतम पहलकदमी लिने छु । जलविद्युत हबका रुपमा परिचित दोलखाको उत्तरी क्षेत्रमा जलविद्युतसम्बन्धि अध्ययन अध्यापन गर्न एक शिक्षालय सहित जलविद्युत पर्यटन केन्द्र निर्माणका लागि पहल गरिने छ ।

ढ) लोपउन्मुख तथा सिमान्तकृत समुदायको विकास

१, दोलखाका लोपउन्मुख सुरेल जातिको पहिचान तथा समग्र समुदायको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ । जिल्लामा रहेका विभिन्न जाति जनजातीहरूको जिवनस्तर उकास्न विभिन्न रोजगारमुलक कार्यक्रम तथा प्रविधिमैत्री सिप विकास योजनाहरू सञ्चालन गरिने छ ।
(२) थामी जातिको शैक्षिक विकास र आर्थिक-सामाजिक उत्थानको लागि उनीहरूको सीप, प्रविधि र दक्षताका आधारमा थामी युवा लक्षित विशेष प्याकेज कार्यक्रम शुरू गरिने छ ।
(३) यो जातिको इतिहास, कला-संस्कृति, ऐतिहासिक सांस्कृतिक, पुरातात्विक सम्पदाहरूको संरक्षण एवम् संबर्दन गर्न र उनिहरूको पहिचानलाई नेपाल लगायत विश्व जगतमा चिनाउनका लागि दोलखा जिल्लामा अन्तर्राष्ट्रिय थामी अध्ययन केन्द्र (International Thami Study Centre) र उनीहरूको साँस्कृतिक पहिचान, परम्परागत सामाजिक मूल्य- मान्यताहरूलाई प्रत्यक्ष प्रदर्शन गर्न, प्रदर्शनीस्थलको रूपमा अन्तर्राष्ट्रिय थामी साँस्कृतिक ग्राम (International Thami Cultural Village) को अवधारणा शुरू गरिनेछ ।

ण) खेलकुद विकास

दोलखा जिल्लामा हरियो घाँसे मैदान निर्माणको लागि पहल गरिनेछ । जिल्लामा रहेका मैदानहरुको स्तरोन्नति गर्दै हरियो घाँसे मैदानको अवधारणा अघि बढाइनेछ । क्रिकेट खेल साथै अन्य खेल विकासको लागि जिल्लाका विद्यालयहरुसंग समन्वय गर्दै जिल्ला लिगको थालनी गर्नको लागि तयारी गरिनेछ ।

हाइ अल्टिच्युड खेल एकेडेमी निर्माणका लागि नेपाल सरकारसँग आवश्यक परामर्श तथा समन्वय गरिनेछ । जिल्लामा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न मेरो प्रतिबद्धता रहनेछ ।

५. मेरो प्रतिबद्धता : वाचा होइन, काम

म यहाँहरूलाई ठूला र असम्भव सपना देखाउन आएको छैन । म तपाईंको भरोसाको कदर गर्न आएको हुँ ।
म संसदमा जाँदा तपाईंको शिर झुक्न दिने छैन ।
म सत्ताको लोभमा होइन, सेवाको भावमा समर्पित रहनेछु ।
मलाई जित्नका लागि होइन, दोलखालाई जिताउनका लागि तपाईंको मत चाहिएको हो ।

आदरणीय मतदाता महानुभावहरू,

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी मलाई आफ्नो प्रतिनिधिका रूपमा सेवा गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु । तपाईको एक मतले दोलखाको आगामी पाँच वर्ष र हाम्रा सन्ततिको भविष्य सुनिश्चित गर्नेछ । यो चुनाव विगतका गल्ती दोहोऱ्याउने कि भविष्य सुधार्ने भन्ने छनोट हो । मलाई विश्वास छ- तपाईं ‘समुन्नत दोलखा’ र ‘सुधारिएको राजनीति’ को पक्षमा उभिनुहुनेछ ।
जय दोलखा, जय नेपाल !