‘हौसला पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्छन्’


भेरीगङ्गा (सुर्खेत), १० फागुन । कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठक डोटीको आदर्श गाउँपालिकामा विसं २०६१ मङ्सिर २९ गते जन्मिएकी उनी न्यून दृष्ट्रिविहीन छिन् । जन्म डोटीमा भए पनि घरको आर्थिक अवस्था कमजोर भएपछि बसाइँसराइ गरी परिवार कैलालीमा आएपछि उनको बाल्यकाल कैलालीको गोदावरी नगरपालिका जमुनानगरमा बित्यो ।

जन्मदै न्यून दृष्ट्रिसम्बन्धी अपाङ्गता भएकी देवीको बाल्यकाल त्यति सहज थिएन । एकातिर घरको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ अपाङ्गता भएको व्यक्ति भनेर समाजमा अपहेलना गरिन्थ्यो । त्यसका बावजुद पनि उनले आफ्नो शिक्षा प्राररम्भ गरिन् । गाउँकै दुर्गा भवानी माध्यमिक विद्यालयमा आफ्नो पढाइ थालनी गरेकाी देवी कक्षामा सधैँ उत्कृष्ट थिइन् ।

पढाइ रोक्न दबाब

देवीले पढाइसँगै अतिरिक्त क्रियाकलापमासमेत रुचि राख्ने गर्थिन् । उनको कक्षा ८ को परीक्षा चलिरहेको थियो । उनलाई अब पढाइ रोक्नुपर्ने दबाब घरपरिवार र गाउँसमाजबाट आउन थाल्यो ।

देवीले भनिन्, “एकातिर घरको आर्थिक अवस्था कमजोर थियो, अर्कोतर्फ दृष्ट्रिसम्बन्धी अपाङ्गता भएर होला पढेर के हुन्छ र ? भन्ने प्रश्न गरिन्थ्यो । अनि घरमा आमाबुवाले पनि अब नपढ्ने भनेर निर्णय गरेपछि म धेरै रोएँ । त्यसपछि मेरो पढेर असल र सामाजिक मानिस बन्ने मेरो सपनामा ब्रेक लाग्न थाल्यो । म धेरै समय रोएरै दिन बिताएँ ।”

घरको आर्थिक अवस्था पनि कमजोर थियो । देवी बुवाआमाले भनेअनुसार पढाइ छोड्ने निर्णयमा पुगिन् । उता कक्षा ८ को नतिजा सार्वजनिक भयो । उनी उत्कृष्ट नतिजा ल्याएर पास भइन् । पास भए पनि उनले आफ्नो पढाइ रोक्ने भनेर घरमा बस्न थालिसकेकी थिइन् ।

परिलक्षित संस्थाको सहयोगले पढाइमा निरन्तरता

घरको आर्थिक अवस्था कमजोर भएकाले देवीले आफू पढ्ने धोको हुँदाहुँदै पनि पढाइ रोक्ने निर्णयमा पुगेकी थिइन् । सँगै न्यून दृष्ट्रिविहीन हुनु पनि उनका लागि समस्या भएको थियो ।

“घरको आर्थिक अवस्था कमजोर भएकाले पढेर के गर्न सक्छे र ? भन्ने प्रश्न समाजबाट आउथ्यो । म पनि अब पढ्दिन भन्ने सोचमा पुगेकी थिएँ । एक दिन हाम्रै गाउँका एकजना पुष्पा रोकाय भन्ने दिदीसँग भेट भयो । उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्नुहुँदो रहेछ । दिदीले आर्थिक अवस्था कमजोर भएका र अपाङ्गता भएका व्यक्तिलाई परिलक्षित संस्थाले छात्रावृत्ति दिन्छ भनेर सुनाएपछि म एकदमै खुसी भएँ ।”

परिलक्षित संस्थाले आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका व्यक्तिलाई शिक्षा हासिल गर्न सहयोग गर्ने थाहा पाएपछि उहाँले आवेदन दिन भनेपछि आफूले आवेदन दिएको देवीले स्मरण गरिन् ।

“आवेदनपछि म छनोट भएँ । छात्रावृत्ति पाउने भएपछि पढाइले निरन्तरता पाउनेमा ढुक्क भएँ । त्यो दिन मेरो खुसीको सीमा थिएन”, उनले भनिन्, “रोकिन लागेको पढाइलाई निरन्तरता दिन पाउने भएपछि मैले ९ कक्षामा भर्ना भएँ । मलाई झनै उत्साह थपियो अनि २०७५ सालमा एसइई पास भएपछि आमाबुवा पनि खुसी हुनुभयो ।”

परिलक्षित संस्थाले शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत शिक्षा आर्जनका लागि सबै खर्च व्यहोर्ने गरेको भन्दै आफूजस्ता धेरै व्यक्ति यो कार्यक्रमबाट लाभाम्वित भएका देवीले बतायन् ।

छोरीको सङ्घर्ष, मेहनतमा परिलक्षितले गरेको सहयोग आफ्ना लागि अवसरका रूपमा आएको देवीकी आमा सरुदेवी पाठक र बुवा नवराज पाठकले बताए । उनीहरूले हौसला र अवसर पाएमा अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्ने भएकाले समाज, घरपरिवारले उपेक्षा गर्न नहुने धारणा राखे ।

काम गर्दै पढ्दै

एसइई पासपछि उनी बैंकर बन्ने लक्ष्यका साथ प्लस टु भर्ना भइन् । उनले लेखा विषय पढेकी छिन् । अहिले घरपरिवार, समाज सबैले उनलाई हौसला प्रदान गर्छन् । अहिले उनले पढ्दै अपाङ्गताको क्षेत्रमा पैरवी पनि गर्छिन् ।

उनले केही सङ्घसंस्थामा आफ्नो क्षेत्रअनुसार काम गर्न थालिन् । देवी अहिले स्नातक तह पूरा गर्ने तयारीमा छिन् । उनी अहिले अपाङ्गता एकता समाज कैलालीमा लेखापाल पदमा कार्यरत छिन् भने उनले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि पैरवी गर्दै आएकी छिन् ।

नेपाल अपाङ्गता महिला सङ्घ कैलालीको अध्यक्षसमेत रहेकी देवीले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि पैरवी गर्दै सरकारी सेवामा प्रवेश गर्ने योजनासहित तयारी गरिरहेकी छिन् । रासस