‘निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण’


काठमाडौँ, १० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा फैलिएका र केही मिडियामा आचारसंहिता विपरीतका गलत, भ्रामक र मिथ्या सूचना सम्प्रेषण हुने गरेका र यसबाट जोगिएर नागरिकलाई सत्य सूचना प्रदान गर्ने मिडियाको प्रमुख दायित्व हुने बताइन् ।

गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रमको समापन कार्यक्रममा सचिव बस्नेतले निर्वाचनको बेला भइरहेका आचारसंहिता उल्लङ्घनका घटना बाहिर ल्याएर सत्य सूचना प्रवाहमा मिडियाले जोड दिनुपर्ने सुझाव दिइन् । निर्वाचन जनताले आफ्नो शासकीय प्रतिनिधित्व छान्न पाउने संवैधानिक अधिकार भएकाले यसको भरपुर सदुपयोग गरेर मतदातालाई प्रोत्साहित गर्नुपर्ने उनको धारणा छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र सहसचिव राजेन्द्र केसीले निर्वाचनसम्बन्धी प्रशिक्षण दिए । आचारसंहिता पालना गर्न र गराउनु नै चुनौती भएकाले मतदान शिक्षामा सबैले जोड दिनुपर्ने तथा मतदाता शिक्षामा महिलाको सहभागिता अति आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले निर्वाचनको बेला मिडियाले दल र जनताबीच निष्पक्ष पुल जस्तै भूमिका निर्वाह गर्नुभपर्ने धारणा राखे । रासस