भोजपुर, ११ फागुन। यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् ।
ल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो ।
स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन् । वडाको ५० प्रतिशत लागत साझेदारी अनुदानले किसानलाई हौसला मिलेको उनले बताए । “हामी अहिले व्यावसायिक स्याउ खेतीमा जुटेका छौँ,” राईले भने, “वडाले खेती विस्तारका लागि आवश्यक अनुदान सहयोग गर्दै आएको छ ।”
वडाध्यक्ष एकराज आचार्यका अनुसार वडाभित्रको कृषियोग्य जमिनमा भूगोल र माटो सुहाउँदो खेती प्रणाली अवलम्बन गर्न विशेष जोड दिइएको छ । स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । “हामीले स्याउ खेती विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” वडाध्यक्ष आचार्यले भने, “यहाँको माटो र हावापानी स्याउ उत्पादनका लागि उपयुक्त देखिएको छ । यस क्षेत्रलाई स्याउको नमुना क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”
यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवर्द्धनका लागि नर्सरी स्थापना गरेको थियो । स्थानीय हावापानीमा उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउने उद्देश्यले नर्सरी सञ्चालन गरिएको वडाको भनाइ छ । रासस




प्रतिक्रिया