कांग्रेसमा फर्किए रास्वपा मकवानपुरका सभापति पराजुली


काठमाडौं, फागुन ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । हेटौंडामा रास्वपाको जिल्ला सभा भइरहेकै समयमा पराजुलीले आइतबार सर्लाही पुगेर कांग्रेस महामन्त्री गगनकुमार थापाको हातबाट सदस्यता ग्रहण गरेका हुन् । ३० वर्ष कांग्रेसको राजनीति गरेर रास्वपाको जिल्ला नेतृत्व सम्हाल्न पुगेका पराजुलीले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘पुरानो घर’ रोजेको जनाएका छन् ।

पराजुलीले पार्टीभित्र सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका छन् । मुख्यगरी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट आफूले टिकट नपाएर २५ वर्षीय प्रशान्त उप्रेतीले पाएपछि उनी नेतृत्वसँग चिढिएका थिए ।

२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका पराजुली गत मंसिरमा मात्रै दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा सर्वसम्मत चुनिएका थिए । पराजुलीको बहिर्गमनलाई रास्वपाका लागि जिल्लामा ठूलो क्षतिका रूपमा हेरिएको छ ।