उपेन्द्र यादवले आज भैरहवाको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्ने


काठमाडौं ११, फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भैरहवा प्रस्थान गरेका छन्। सोमबार बिहान ८ बजे यति एयरलाइन्सको विमानबाट उनी भैरहवा तर्फ प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।

भैरहवाको मर्चवारस्थित पर्सहवा बजारमा आयोजित चुनावी सभालाई प्रमुख वक्ताको रुपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रुपन्देही निर्वाचन क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र मर्चवारमा चुनावी सभा आयोजना गरिएको छ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री सर्वेन्द्र नाथ शुक्ला, लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष पाण्डे, जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादव लगायत पार्टीका शिर्ष नेताहरुले सभालाई सम्बोधन गर्नेछन्।

उत्पीडित वर्गका लागि विगतदेखि हालसम्म गरिएका सङ्घर्षका उपलब्धिको चर्चा, समसामयिक राजनीतिक मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा सार्वजनिक र आगामी निर्वाचनको बिषयमा कार्यक्रम केन्द्रित रहने बताइएको छ।

अध्यक्ष यादव सोमबार दिउसो नै नेपालगंज प्रस्थान गर्ने कार्यक्रम रहेको छ। बाँकेको निर्वाचन क्षेत्र २ का उम्मेदवार एवं पार्टी नेता कमरुद्दीन राईको निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँग भेटघाट तथा छलफल सम्पन्न गरी मंगलबार बिहान उनी काठमाडौं फर्किने छन्।