माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत


नयाँदिल्ली, ११ फागुन । भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् ।

सरकारी अधिकारीहरूका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहेका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गरेका छन् । उनको आत्मसमर्पणलाई सुरक्षाकर्मीहरूले विद्रोही संरचनामा ठूलो धक्का ठानेका छन् । छत्तीसगढका उप–मुख्यमन्त्री विजय शर्माले आइतबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा ‘यो अन्तिम चरण हो’ भन्दै यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताएका छन् ।

भारतले माओवादी विद्रोहीविरुद्ध व्यापक सुरक्षा अभियान तीव्र बनाइरहेको छ । हिमालयको फेदमा रहेको एक गाउँको नामबाट परिचित ‘नक्सलवादी’ आन्दोलन करिब छ दशकअघि सुरु भएको थियो । त्यसयता फैलिँदै गएको यो आन्दोलन सन् २००० को दशकको मध्यतिर चरम अवस्थामा पुगेको थियो । त्यतिबेला १५ हजारदेखि २० हजारसम्म लडाकू सक्रिय रहेको अनुमान गरिएको थियो । त्यतिबेला देशको झन्डै एक तिहाइ भूभागमा विद्रोही प्रभाव देखिन्थ्यो । तर पछिल्ला वर्षहरूमा सुरक्षात्मक कारबाही र आत्मसमर्पणको लहरसँगै आन्दोलन नाटकीय रूपमा कमजोर भएको सरकारी दाबी छ ।

विद्रोहका क्रममा १० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । माओवादीहरूले भने आफूहरू वन क्षेत्रका सीमान्तकृत आदिवासी समुदायको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् । ती क्षेत्रहरूमा खानी कम्पनीहरूको चासो र बहुमूल्य प्राकृतिक स्रोतको दोहन मुख्य विवादको विषय रहँदै आएको छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२४ यता ५०० भन्दा बढी माओवादी विद्रोही मारिएका छन्, जसमा केही शीर्ष कमाण्डर पनि परेका छन् । आत्मसमर्पण र सुरक्षात्मक कारबाहीलाई तीव्र पार्दै सरकारले मार्च ३१ भित्र विद्रोह अन्त्य गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

गृहमन्त्री अमित शाहले शनिबारको एक सम्बोधनमा भारत ‘मार्च ३१ सम्म माओवाद अन्त्य गर्न तयार’ रहेको बताएका थिए । “फेब्रुअरी अन्त्य हुँदै गइरहेको छ र मैले पहिले भनेको कुरा दोहोर्‍याउँछु– मार्च ३१ सम्ममा हामी यस देशलाई माओवादी समस्याबाट पूर्ण रूपमा मुक्त गर्नेछौँ”, उनले भनेका थिए । उनले विगत तीन वर्षमा हासिल प्रगतिको उल्लेख गर्दै यति जटिल र दीर्घकालीन चुनौती छोटो अवधिमा नियन्त्रणतर्फ उन्मुख हुनु ऐतिहासिक उपलब्धि भएको धारणा व्यक्त गरेका छन् ।

सरकारले आत्मसमर्पणलाई निर्णायक मोडको सङ्केतका रूपमा प्रस्तुत गरिरहँदा, विद्रोहको सामाजिक र आर्थिक जडबारे बहस भने अझै कायम छ । यद्यपि आधिकारिक दाबीअनुसार भारत माओवादी आन्दोलनको समापनतर्फ अब अन्तिम चरणमा प्रवेश गरिसकेको छ । रासस