गगन थापाले सार्वजनिक गरे आफ्नो प्रतिज्ञा


काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगनकुमार थापाले आफ्नो प्रतिज्ञा सार्वजनिक गरेका छन् । उनले सर्लाही क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उभिँदा आफूलाई श्रद्धा, गौरव र जिम्मेवारी महशुस भएको बताएका छन् ।

उनले भनेका छन्,‘मधेशको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं। ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस गरिरहेको छु । म तपाईंहरूसँग एकाकार भई एउटा गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न, मधेशलाई सुन्न, बुझ्न र आत्मसात गर्न, मधेशका मुद्दा र समस्यालाई राष्ट्रिय मुद्दा र प्राथमिकता बनाउन आएको हुँ ।’

उनले सर्लाहीको माटोमा पाइला टेक्दा आफूले यसभित्र लुकेका अनेकन् कथा र व्यथाहरू भेटेको स्मरण गराएका छन् । उनले भने,‘सम्भावनाका किरणहरू देखेँ । देशकै सबैभन्दा पुरानो सडक तर राज्यको चरम बेवास्तामा परेको, जोखिमयुक्त र अलपत्र पुलहरू, अनि त्यो सडक आसपास सम्भावनाको खोजीमा वर्षौंदेखि कष्टपूर्ण जीवन बिताइरहेका नागरिकहरूसँग संवाद गरें ।’

सर्लाही क्षेत्र नं. ४ का लागि मेरो प्रतिज्ञा, मेरा अभियान

आदरणीय आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरू
प्रणाम !
म गगन थापा, तपाईंको घर–आँगनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट सांसदको उम्मेदवारको रुपमा उपस्थित छु । यस क्षणमा मैले ती तमाम ज्ञात–अज्ञात महान् शहीदहरूलाई सम्झिरहेको छु, जसले २००७ सालको क्रान्तिदेखि मधेश आन्दोलन हुँदै २०८२ साल सम्मका हरेक आन्दोलनमा नागरिक स्वतन्त्रता, लोकतन्त्र, पहिचान र अधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभयो । उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपालको लोकतान्त्रिक चेतनाको पहिलो झिल्को, परिवर्तनका हरेक आन्दोलनको वास्तविक आधारभूमि र संघीयताको जग यही मधेशको पवित्र माटोमा कोरिएको हो भन्न पाउँदा मलाई गर्व लाग्छ ।

मधेशको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस गरिरहेको छु । म तपाईंहरूसँग एकाकार भई एउटा गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न, मधेशलाई सुन्न, बुझ्न र आत्मसात गर्न, मधेशका मुद्दा र समस्यालाई राष्ट्रिय मुद्दा र प्राथमिकता बनाउन आएको हुँ ।

तपाईंको प्रतिनिधि बन्ने संकल्प लिएर सर्लाही आउनु केही अघि म ‘हुलाकी राजमार्ग संवादका क्रममा यहाँका गाउँबस्तीहरूमा पुगेको थिएँ । यो माटोमा पाइला टेक्दा मैले यसभित्र लुकेका अनेकन् कथा र व्यथाहरू भेटेँ, सम्भावनाका किरणहरू देखेँ । देशकै सबैभन्दा पुरानो सडक तर राज्यको चरम बेवास्तामा परेको, जोखिमयुक्त र अलपत्र पुलहरू, अनि त्यो सडक आसपास सम्भावनाको खोजीमा वर्षौंदेखि कष्टपूर्ण जीवन बिताइरहेका नागरिकहरूसँग संवाद गरें ।

मैले माझी, निसाद, मुसहर, मुस्लिम, सहानी, कुशवाहा, यादव तथा अन्य तमाम मेहनती समुदायका दाजुभाइ, दिदीबहिनीहरूले दिनहुँ भोग्ने कठोर संघर्षलाई नजिकबाट देखेँ । त्यसैले म मधेशलाई केवल बाहिरबाट हेर्न होइन, यसलाई गहिराइबाट बुझ्न र यहाँका दशकौंदेखिका समस्याहरूको स्थायी समाधान खोज्ने प्रण गरेर आएको हुँ ।

राष्ट्रिय राजनीतिका विविध विषय र मधेशका समग्र मुद्दाका बारेमा हामीले पार्टीको तर्फबाट छुट्टै प्रतिज्ञापत्रमा उल्लेख गरेका छौं । यस सर्लाही क्षेत्र नं. ४ का विषयमा पनि मैले क्षेत्रगत विज्ञ टोली बनाएर तपाईको नगर, गाउँ, ५१ वटै वडा बस्ती र देहातमा पुगेर प्रत्यक्ष संवाद, अन्तक्र्रिया र परामर्श गरी यहाँका समस्या र सम्भावनाहरूलाई नजिकबाट अध्ययन गरिरहेको छु । तपाईंका प्रत्येक समस्या टिपेको छु र तिनको समाधान खोजेरै छाड्नेछु ।

पूर्वाधारका प्राथमिकता

तपाईंको घर आँगनमा आउने क्रममा धेरैले पूर्वाधारको विषय उठाउनु भएको छ । कतै वर्षौंदेखि अलपत्र पुल छ, कतै डुवान समस्या छ त कतै बाँधको मर्मत अपरिहार्य छ । कतै नहर र सडक, कहीँ ढल निकास र खानेपानीको समस्या छ । कतै सिँचाइको असुविधा छ र त्यसका लागि बिजुली पनि चाहिएको छ भने कुनै ठाउँमा कृषि भण्डारण, कृषि औजार र पूर्वाधारको आवश्यक छ । बाटोदेखि बाँधसम्म थुप्रै पू्र्वाधार निर्माण र मर्मत गर्नुपर्ने छ । यी कामहरू कुनै संघ सरकारसँग सम्बन्धित छन्, कुनै प्रदेशसँग । यी जुन जुन तहका सरकारसँग सम्बन्धित छन्, ती सरकारहरूसँग समन्वय गरेर म पूर्वाधारको समस्याको हल गर्नेछु । यो मेरो प्रतिज्ञा हो ।

यसका साथै विभिन्न समुदायमा पुग्दा स्वास्थ्य, शिक्षा, पोषणका साथै महिला, बालबालिकाका समस्या र विपन्न समुदायको उत्थानका लागि सुझाव दिनुभएको छ । कृषि उपजको मूल्य र मलको समस्या सधैं किसानका लागि सकस बनेको छ । यी लगायत सबै स्थानीय तहका ५१ वटै वडामा तपाईंहरूले भोगेका हरेक समस्याबारे सूची बनाएको छु । ती प्रत्येक विषयमा परिणाम देखिने गरी काम गर्न दृढ संकल्पित छु ।

यसका अतिरिक्त मैले यस क्षेत्रमा केही विशेष अभियान सञ्चालन गर्छु । जसको संक्षेपमा यहाँ चर्चा गरेको छु ।

मेरो अभियान
१. गुणस्तरीय शिक्षा– कापी कलम अभियान ः यस क्षेत्रमा बालबालिकाको पढाइको गुणस्तर बढाउदै यहाँको शिक्षामा सुधार गरेर हाम्रा बालबच्चालाई योग्य बनाउनको लागि :

गणित, विज्ञान र अंग्रेजीको शिक्षकको उपलब्ध गराउन र विद्यालयलाई प्रविधिमैत्री बनाउन STEAM अभियान सञ्चालन गर्नेर्छौं ।
विद्यालयमा पुग्न नसक्ने अवस्था अन्त्य गर्न विपन्न, दलित, मुस्लिम समुदायका विद्यार्थीलाई छात्रवृत्ति अभियान चलाउनेर्छौं ।
सबैका लागि शिक्षा र सिकाई सहज बनाउन मातृभाषामा शिक्षाको व्यवस्था गर्नेछौं ।
उच्च शिक्षाका लागि सुविधायुक्त क्याम्पस र CTEVT बाट मान्यता प्राप्त प्राविधिक विद्यालय स्थापना गर्नेछौं ।
छोरीहरूको पढाइ र पढाइसँगै कमाइ सुनिश्चित गर्न ‘सबल छोरी अभियान’ सञ्चालन गर्नेर्छौं ।
सुलभ स्वास्थ्य– स्वस्थ नागरिक अभियान : यहाँका स्वास्थ्य संस्थाहरू मार्फत घर नजिकै सहज रुपमा गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि:
यस क्षेत्रका स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्थाका गर्नेर्छौ ।
घर नजिकै औषधि, परिक्षण, परामर्श र उपचार सहितको स्वास्थ्य सेवाका लागि प्रत्येक स्थानीय तहमा चिकित्सकसहितको कम्तिमा एउटा ’स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्नेछौं ।
स्थानीय तहको सहकार्यमा स्वास्थ्य सचेतना, परीक्षण, परामर्श र उपचार तथा औषधी पाउने गरी सर्पदंश र कालाजारको निःशुल्क उपचारको व्यवस्था गर्नेछौं ।
‘म स्वस्थ मेरो परिवार स्वस्थ अभियान’ र कुपोषणको न्यूनिकरण तथा सन्तुलित र पोषणयुक्त आहारको उपभोगको लागि विशेष कार्यक्रम सञ्चालन गर्नेछौं ।
अस्पताल पुग्न नसक्ने ज्येष्ठ नागरिक, दीर्घ रोग भएका बिरामीका लागि घर आगनमै विशेषज्ञ डाक्टर पुग्ने गरी ‘मोबाइल क्लिनिक’ र घरमै स्वास्थ्य अभियान सञ्चालन गर्नेछौं ।
लागुऔषध र कुलत विरुद्ध शून्य सहनशीलताको नीति लिँदै गाउँ–गाउँमा सचेतना अभियान र सिर्जनात्मक केन्द्रहरू सञ्चालन गर्नेछौं । कुलतमा फसेका युवाहरूका लागि पुनस्र्थापना केन्द्र स्थापना गर्नेछौं ।
आधुनिक उपकरण र विशेषज्ञसहित मधेश मृगौला उपचार केन्द्र स्थापना गर्नेछौं ।
कृषि उत्थान, किसान गौरव अभियान : जीवनको मूख्य आधार कृषि रहेको यस क्षेत्रका किसानलाई बीउ, मल र मूल्य समयमा सुनिश्चित गर्न र ऋणको बोझमा थिचिनुपर्ने व्यथाको अन्त्यका लागि:

उखु बक्यौता भुक्तानी, नजिकै समयमै बिउको सहज उपलब्धता, शित भण्डार, सिँचाइ विस्तार र न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी गर्नेछौं ।
कृषि र परियोजनामा आधारित उद्यमलाई विनाधितो ऋणको व्यवस्था गर्दै कृषि उत्थान किसान गौरव अभियान सञ्चालन गर्नेछौं । मत्स्य पालन, आँप लगायतको फलफूल तथा आलु, बन्दा, काउली, गोलभेडा लगायतका तरकारी खेतीको सम्र्वधन तथा मूल्य र बजारसँग जोड्नेछौं ।
आपतकालीन मल भण्डार : सिजन सुरु हुनुअगावै ’मौसमी मल पात्रो’ सार्वजनिक गरी वडा तहबाटै वितरण, भन्सार बिन्दुदेखि किसानको हातसम्म डिजिटल ट्रयाकिङ र सर्लाहीमा ’आपतकालीन मल भण्डार’ स्थापना गरेर मलको सहज उपलब्धताको ग्यारेन्टी गर्नेछौं ।
मल कारखानालाई मधेशमा स्थापना गर्न पहल गर्नेछु ।
प्राकृतिक स्रोत र विपद् व्यवस्थापन–संरक्षण अभियान ः यस क्षेत्रको तल्लो तटीय क्षेत्र बाढी र डुबानको जोखिम कम गर्न, बागमती र मनुस्मरा नदीको कटानलाई रोकी नागरिकको जीवन सुरक्षित गर्नको लागि:

बागमती नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण, जीर्ण अवस्थामा रहेको मनुस्मरा नहरको बाँध मर्मत गर्नेछौं ।
खोलाका दुवै किनारामा बाँस रोपेर कटान रोक्ने र बाँसको उत्पादन बढाई किसानको आयआर्जन बृद्धि गर्नेर्छौं ।
तटबन्ध, अर्ली वार्निङ सिस्टम, वृक्षारोपण र पानी संरक्षण कार्यक्रम सञ्चालन गरी दीर्घकालीन समाधानमा काम गर्नेर्छौं । कृषि वन प्रोत्साहन गर्नेछौं । चुरे दोहन रोक्न र संरक्षण गर्न ‘चुरे संरक्षण, जल संकट निवारण विशेष अभियान सञ्चालन गर्नेछौं ।
‘मिसन रोजगारी अभियान : रोजगारी, अवसर र सीपको अभावले विदेश जानपर्ने बाध्यतालाई कम गर्न, सीप र बजारबीचको खाडल, पुँजीको अभाव अन्त्य गर्दै युवालाई उद्यमी र स्वरोजगार बनाउनका लागि:

श्रम बजार सर्वेक्षण मार्फत विभिन्न क्षेत्रका सिप आवश्यकताहरूको पहिचान त्यसका आधारमा एकीकृत सिप विकास मेला सञ्चालन, रोजगार सूचना केन्द्र स्थापना र बजारको माग अनुसारको तालिम र सीप प्रदान गर्ने व्यवस्था गर्नेछौं ।
व्यावसायिक कृषि लगायत आफ्नै व्यवसाय सुरु गर्न चाहने महिला, दलित र युवालाई बिना धितो न्युन व्याजदरमा कर्जा र व्यवसाय विकासमा सहजीकरण ’मेन्टरसिप’ कार्यक्रम गर्नेछौं ।
वैदेशिक रोजगारमा जानु अघि सिपयुक्त र सुरक्षित बनाउन सहायता डेस्कमार्फत निःशुल्क परामर्श र कानुनी सहयोग, भाषा तथा सीप तालिम, ऋण सहयता र प्रक्रियागत सहजीकरण गर्नेछौं ।
रोजगारीका क्रममा विदेशमा रहेका युवाहरूको समस्या समाधानका लागि जनता दलान (सांसदको कार्यालय) मार्फत आवश्यक सहयोग प्रदान गर्नेछौं ।
विदेशबाट फर्केका युवालाई पुनस्र्थापना, लगानी र व्यवसायमा जोडेर अनुभवबाट उद्यम र पुँजीबाट मालिक बनाउदै कोही पनि युवा खाली नराख्न श्रमिक सिप र उद्यम अभियान चलाउनेर्छौं ।
“दशगजा उज्यालो अभियान” करिब ३० किलोमिटर भूभाग भारतीय सीमासँग जोडिएको यस क्षेत्रमा सीमा क्षेत्रका नागरिकको सुरक्षा र सम्मानका लागि;

सुरक्षा र सौन्दर्यका लागि सीमा नाकाहरू र मुख्य पदमार्गहरूमा अत्याधुनिक ’हाइ–माष्ट सौर्य बत्ती’ जडान गरी ’दशगजा उज्यालो अभियान’ चलाउनेर्छौं । राजस्व तथा सुरक्षा दुवै प्रभावकारी बनाउन छोटी भन्सारहरूलाई व्यवस्थित र आधुनिक बनाउनेर्छौं ।

सीमावर्ती बस्तीहरूमा सडक, बिजुली र सिँचाइका विशेष योजनाहरूलाई ’सीमा गाउँ विकास प्याकेज’ मार्फत प्राथमिकताका साथ कार्यान्वयन गर्नेछौं । सिमाक्षेत्रका नागरिकले सहज रुपमा धितो राखेर ऋण प्राप्त गर्ने वातावरण बनाउनेर्छौं ।

महिला तथा बालबालिका, मेरो आवाज, मेरो अधिकार अभियान : यस क्षेत्रमा महिला सशक्तिरणको लागि :
स्थानीय तहको समन्वयमा महिलाको परम्परागत सिप मेला सचालन गरी महिला समुहको जमानीमा महिलालाई २ प्रतिशत ब्याजमा ‘महिला उद्यम कर्जा’को व्यवस्था गरी लखपति आमा उद्यमी अभियान सञ्चालन गर्नेछौं ।

‘दाइजो, घरेलु हिंसा र बालविवाह विरुद्ध समुदायको सहकार्यमा अभियान चलाउँदै कानुनी सहायता र सुरक्षित आश्रयको व्यवस्था गर्नेछौं । आमा र वच्चाको पोषण विशेष अभियान सञ्चालन गर्नेछौं ।

दलित अधिकार, समता र न्याय अभियान : मुसहर, चमार, डोम, पासवान, खत्वे लगायतका दलित समुदायहरूमा भएको असमानताको अन्त्य गरी दलित समुदायको उत्थानका लागि :

संरचनात्मक विभेदको पिंधमा रहेका मधेसी दलित महिलाको उत्थान र विकासका लागि थप विशेष कार्यक्रम ल्याउनेर्छौं ।
पुर्ख्याैली सीप (बाँसका सामग्री, फलामका औजार, हस्तकला आदि) लाई संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्न र व्यबसायिक बनाउन बिनाधितो सहुलियत ऋण उपलब्ध,र तालिमको व्यवस्था गर्नेछौं ।

दलित समुदायका विद्यार्थीका लागि पूर्व प्राथमिक, प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म छात्रवृति सहित निःशुल्क शिक्षाको व्यवस्था गर्न मेरो पहलकदमी रहनेछ ।

भूमिहीन दलितलाई भूमि र आवासको व्यवस्था, नागरिकता सहजीकरण, शिक्षा र रोजगारी अवसरमा काम गर्नेछौं । बोक्सी आरोप तथा सामाजिक बिभेदमा शुन्य शहनशीलता र सामाजिक समानतामा काम गर्नेछौं । मेरो संस्कृति मेरो पहिचान अभियान : मैथिली–बज्जिकाको माधुर्य, छठ र ईदको साझा संस्कृति, गाउँका मौलिक भाकादेखि पुर्खाको गौरवसम्म, यो विविधता नै यस क्षेत्रको सुन्दरता हो ।

यसको संरक्षणको लागि:

निसाद, माझी लगायतका अल्पसंख्यको परम्परागत पेशा र सिपको संरक्षण गर्नेछौं । यस क्षेत्रको मौलिक लोकसंस्कृति, लोककथा र ऐतिहासिक गाथाहरूलाई संस्थागत रूपमा संरक्षण र संवद्र्धन गर्न एक ’सांस्कृतिक केन्द्र’ निर्माण गर्नेछौं ।
मिथिला कला र हस्तकलामा पोख्त हाम्रा आमा–दिदीबहिनीहरूको सीपलाई प्रमाणिकरण र बजारीकरण गरी व्यावसायिक रूपान्तरण गर्नेछौं ।

ऐतिहासिक मन्दिर, पौराणिक पोखरी र धर्मशालाहरूलाई संरक्षण एवं संवद्र्धन गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्न काम गर्नेछौं । स्थानीय चाड पर्व, बिभिन्न समुदायको भाषा, कला ,साहित्य, मठ मन्दिर, मस्जिद मदरसा, गुम्बा प्रवर्दधन तथा संरक्षणको लागि विशेष अभियान सञ्चालन गर्नेछौं । परम्परागत मेलाहरूलाई व्यवस्थित बनाउन र स्थानीय क्लबहरूलाई प्रोत्साहित गर्नेछौं ।

जनता दलान– सांसदको कार्यालय
तपाईंहरूका समस्या सुन्न र समाधान गर्न म यस क्षेत्रमा व्यवस्थित सांसदको कार्यालय ‘जनता दलान’ स्थापना गर्नेछु । यो कार्यालय तपाईंका गुनासा, समस्या र सुझावहरू संकलन गरी तिनको ठोस समाधान र निकास निकाल्न केन्द्रित रहनेछ । यहाँ म र मेरो सहयोगी टीम तपाईंका समस्याहरू सम्बोधन गर्न हरदम उपलब्ध रहनेछौं । म तपाईँहरूको सेवक बनेर निरन्तर साथमा रहनेछु ।

म र तपाईंकोबिचमा कोही पनि तेस्रो व्यक्ति वा निकाय हुने छैन । आफ्ना कुरा राख्न तपाईंले कुनै पात्र वा माध्यम कुरिरहनु पर्दैन; म तपाईंहरूसँग प्रत्यक्ष संवादका लागि सधैँ उपलब्ध रहनेछु ।

काठमाडौंमा स्याटेलाइट कार्यालय काठमाडौंमा रहँदा तपाईंहरूले भोग्नुपर्ने सास्ती र अन्योल अन्त्य गर्न म ‘स्याटेलाइट जनता दलान सञ्चालन गर्छु । मेरो सहयोगी टिमबाट तपाईंहरुलाई काठमाडौंमा रहँदा भोग्नु पर्ने समस्यामा प्रत्यक्ष सहयोग र सहजीकरण हुनेछ । म तपाईंकै बीचमा, यही माटोको तपाईंकै आत्मीय मान्छे भएर उभिई रहन्छु । तपाईको जनप्रतिनिधि भएर नेपालको समुन्नतिको यात्रालाई अगाडि लैजान चाहान्छु । मलाई तपाईंको विश्वास, न्यानो स्नेह र आशीर्वादको खाँचो छ । तपाईको अमूल्य मतले मेरो सेवा गर्ने संकल्पलाई नयाँ उँचाइ दिनेछ ।