धादिङ बस दुर्घटना : मृतक सबैको सनाखत


काठमाडौं, फागुन १२ । धादिङको चरौँदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आइतवार बेलुका पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा बेलायती, भारतीय र चिनियाँ एकरएक सहित १९ जनाको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।