अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या, प्रहरी कारबाहीमा उनको पनि मृत्यु


काठमाडौं, फागुन १२ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गरेका छन् । प्रहरी कारवाहीमा अभियुक्त पनि मारिएका छन् ।

५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको हो भने ज्वाइँ घाइते छन् । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ । घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टको हो ।

घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । प्रहरीले छत्रबहादुरलाई सन्तोषमाथि आक्रमण गरिरहेको बेला गोली हानेको हो ।