काठमाडौं, १२ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा रुकुम-पश्चिमका उम्मेदवार जनार्दन शर्माले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उनले २१ वटा प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
पहिलो नम्बरमा उनले राजनीतिमा व्याप्त विकृति, विसंगति, राजनीतिलाई व्यापार र व्यक्तिगत स्वार्थसिद्ध गर्ने माध्यम बनाउने प्रवृत्ति तथा जनमतको दुरुपयोग र प्रतिशोधको भावनाविरुद्ध लड्नु आवश्यक रहेको औंल्याएका छन् । समाजलाई सभ्य, सम्पन्न, शान्त र लोकतान्त्रिक बनाउनुको साटो गाली–गलौजमार्फत आफूलाई राम्रो देखाउने, अपारदर्शीता, विलासिता र पारिवारिक स्वार्थजस्ता खराब व्यवहारलाई निरुत्साहित गर्ने कुरा पनि उनले आफ्नो पहिलो बुँदाको प्रतिबद्धतामा समावेश गरेका छन् ।
यस्तै दोस्रो बुँदामा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिँदै, जनचेतना अभिवृद्धि र दबाब सिर्जना गर्ने तथा नीतिगत सुधार र बलियो संरचनामार्फत भ्रष्टाचार निवारणमा सक्रिय रहने बताएका छन् । तेस्रो बुँदामा राज्यका नीति तथा योजना निर्माण, कार्यान्वयन र यसका निगरानीमा जनसहभागिता सुनिश्चित् गर्ने कुरा लेखिएको छ ।







प्रतिक्रिया