इमरान खानको आँखाको उपचार


इस्लामाबाद, १२ फागुन । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ । उनलाई आँखा इन्जेक्सनको दोस्रो मात्रा दिन लगिएको र स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०२३ देखि कारागारमा रहेका ७३ वर्षीय खानलाई गत वर्षको अन्त्यतिर भ्रष्टाचार मुद्दामा उनी र उनकी श्रीमतीलाई १७ वर्षको सजाय सुनाइएको थियो । परिवार र कानूनी टोलीका अनुसार उनको दाहिने आँखाको अधिकांश दृष्टि गुमिसकेको छ । उनका वकिल सलमान सफदरले यसअघि एक पत्रकार सम्मेलनमा उनको एउटा आँखामा करिब १५ प्रतिशत मात्र दृष्टि बाँकी रहेको बताएका थिए ।

यद्यपि उपचार गरिए पनि उनका प्रेस सल्लाहकार सैयद जुल्फिकार बुखारीले व्यक्तिगत चिकित्सक र परिवारसँग भेटघाटको अनुमति नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । गत साता उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले इस्लामाबाद सरकारसँग पर्याप्त उपचार उपलब्ध गराउन आग्रह गरेका थिए ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खान राजनीतिक सङ्कटका बीच अविश्वास प्रस्तावमार्फत पदबाट हटेका थिए । त्यसयता उनले भ्रष्टाचार लगायतका विभिन्न मुद्दा सामना गर्दै आएका छन् । उनी र उनको दल पाकिस्तान तहरीक–ए–इन्साफले ती मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गर्दै आएका छन् ।

मे २०२३ मा उनको गिरफ्तारीपछि देशव्यापी प्रदर्शन भड्किएको थियो, जसमा केही स्थानमा हिंसा भएको र सयौँ व्यक्ति पक्राउ परेका थिए । उनका छोरा कासिम खानले सामाजिक सञ्जालमार्फत आफ्नो बुबाको वर्तमान स्वास्थ्य अवस्था कारावास अवधिको ‘चिकित्सकीय उपेक्षा’ को परिणाम भएको आरोप लगाएका छन् । रासस