मधेसी महिलालाई मतदाता शिक्षा


खजुरा (बाँके), १२ फागुन । यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

महिला, कानुन र विकास मञ्च काठमाडाँैको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले, बाँके र बर्दियामा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सुरु गरेको हो । बाँके र बर्दियामा विशेषगरी थारू, मधेसी, मुस्लिम, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका महिला र १८ वर्ष पुगेका युवायवतीलाई मतदाता शिक्षा दिन लागिएको हो ।

बाँकेको जानकी गाउँपालिका–२ मा मधेसी समुदायका महिलालाई मतदाता शिक्षाबारे जानकारी दिइएको छ । अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जाँदा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा अधिवक्ता विश्वजित तिवारीले सहजीकरण गरेको थियो ।

कार्यक्रममा सहभागी महिलालाई मतदानबारे अभ्यासका लागि नमूना मतदान गराइएको थियो । कार्यक्रममा वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले मत बदर बढी हुने गरेकाले यो मतदाता शिक्षाले सहयोग पुग्ने बताए । उनले मताधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदानबारे जागरुक बन्नुपर्नेमा जोड दिए । नमूना मतपत्रका माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको छ ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए । रासस