उन्नत जातका सुन्तलाका बेर्ना वितरण


भोजपुर, १२ फागुन । किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यहाँको भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई उन्नत जातका सुन्तलाका बेर्ना वितरण गरिएको छ । वडा कार्यालयले १५० किसानलाई करिब एक हजार २५० सुन्तलाका बेर्ना वितरण गरेको हो ।

बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छ । किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बेर्ना उपलब्ध गराइएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । ती बेर्ना धनकुटास्थित पारीपात्ले सुन्तला जात अनुसन्धान केन्द्रबाट ल्याइएका हुन् ।

‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तलाका बेर्ना वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए । यस वर्ष वडाले सुन्तला तथा अङ्गुरका बेर्ना वितरणका लागि दुई लाख बजेट विनियोजन गरेको छ । मागका आधारमा हाल सुन्तलाका बेर्ना वितरण गरिएको र केही समयपछि अङ्गुरका बेर्ना पनि वितरण गरिने उनको भनाइ छ ।

“बोखिम सुन्तला खेतीका लागि उपयुक्त क्षेत्र हो,” वडाध्यक्ष प्रधानले भने, “सदरमुकाम नजिक भएकाले बजारको समस्या छैन । किसानलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले बेर्ना वितरण गरेका हौँ ।”

हाल यहाँका करिब ३०० किसान सुन्तला खेतीमा आबद्ध छन् । स्थानीय किसान भीमबहादुर दाहालले उन्नत जातका बेर्ना वितरण कार्यक्रमले किसानलाई ठूलो राहत मिलेको बताए । रासस