अरूको भोकप्यास मेटाउने मानवीय संस्कार नेपाली समाजको आदिकालदेखिकै पहिचान हो : प्रधानमन्त्री कार्की


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले समाज कल्याण परिषद्ले सेवाग्राहीलाई छिटो, छरितो तथा प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको डिजिटल सेवा प्रवाह प्रणालीको शुभारम्भ समारोहमा सहभागी भई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको बताएकी छिन् ।

समाज कल्याण परिषद् डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । सम्बोधनको क्रममा उनले भनिन्,‘विकास सहायता परिचालनको एक महत्त्वपूर्ण क्षेत्र सामाजिक सेवा हो । हाम्रोजस्तो विकासोन्मुख देशका लागि सामाजिक सेवा र विकास सहायता समृद्धिको महत्त्वपूर्ण आधारस्तम्भ हुन् । समाजका प्रत्येक सदस्य विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु राज्य र नागरिक संघ–संस्था सबैको साझा दायित्व हो । हामी सबै समाजका अभिन्न अंश हौँ र समाज नै हाम्रो मूल्य, मान्यता र सभ्यताको धरोहर हो । ‘बाँच र बचाऊ’ भन्ने हाम्रो पूर्वीय सभ्यताको मूल मर्म हो । त्यसैले त हाम्रो परम्पराले परोपकारलाई पुण्यका रूपमा स्थापित गरेको छ । आफूले नखाएर पनि अरूको भोकप्यास मेटाउने मानवीय संस्कार नेपाली समाजको आदिकालदेखिकै पहिचान हो । यही परोपकारी भावना नै हाम्रो सामाजिक एकताको आधार पनि हो ।’

प्रधानमन्त्री कार्कीको मन्तव्य

यस समारोहका अध्यक्षज्यू,
माननीय मन्त्रीगण,
नेपाल सरकारका सचिवज्यू तथा राष्ट्रसेवक कर्मचारीहरू,
समाज कल्याण परिषद्का पदाधिकारी, सदस्य एवं कर्मचारीहरू,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाका अगुवा प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
तथा उपस्थित सम्पूर्ण महानुभावहरू,
समाज कल्याण परिषद्ले सेवाग्राहीलाई छिटो, छरितो तथा प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको डिजिटल सेवा प्रवाह प्रणालीको शुभारम्भ समारोहमा सहभागी भई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ ।
विकास सहायता परिचालनको एक महत्त्वपूर्ण क्षेत्र सामाजिक सेवा हो । हाम्रोजस्तो विकासोन्मुख देशका लागि सामाजिक सेवा र विकास सहायता समृद्धिको महत्त्वपूर्ण आधारस्तम्भ हुन्।
समाजका प्रत्येक सदस्य विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु राज्य र नागरिक संघ-संस्था सबैको साझा दायित्व हो ।
हामी सबै समाजका अभिन्न अंश हौँ र समाज नै हाम्रो मूल्य, मान्यता र सभ्यताको धरोहर हो ।
‘बाँच र बचाऊ’ भन्ने हाम्रो पूर्वीय सभ्यताको मूल मर्म हो । त्यसैले त हाम्रो परम्पराले परोपकारलाई पुण्यका रूपमा स्थापित गरेको छ ।
आफूले नखाएर पनि अरूको भोकप्यास मेटाउने मानवीय संस्कार नेपाली समाजको आदिकालदेखिकै पहिचान हो ।
यही परोपकारी भावना नै हाम्रो सामाजिक एकताको आधार पनि हो ।
समयसँगै सामाजिक कल्याणको अवधारणामा परिवर्तन आएको छ । पहिले दया र करुणाको भावनाबाट सेवा गरिन्थ्यो भने आज सामाजिक न्याय, अधिकार र समान अवसरको दृष्टिकोणबाट हेर्न थालिएको छ ।
आज यो धर्तीमा जन्मिइसकेपछि प्रत्येक मानवले आधारभूत सुविधा र अधिकार पाउनुपर्छ भन्ने मान्यता विश्वव्यापी बन्दै गएको छ ।
स्रोतसाधनमा पहुँच भएका वर्गले वञ्चित र पिछडिएका समुदायका लागि जिम्मेवारीपूर्वक योगदान दिनुपर्छ भन्ने आधुनिक सामाजिक उत्तरदायित्वको मान्यता विकास भएको छ ।
अझ मानव कल्याण मात्र नभई सबै प्राणीको अस्तित्व र धर्तीकै कल्याणका निम्ति काम गर्नुपर्ने समय आएको छ ।
जुन कोणबाट व्याख्या गरे पनि, आफ्ना स्वार्थभन्दा माथि उठेर समाजको समग्र उन्नतिका लागि समर्पित हुनु नै साँचो समाज सेवा हो । सेवाको भावना जीवित रहँदा मात्र समाजमा शान्ति, सद्भाव र न्याय सुरक्षित रहन्छ ।
राज्यको नीति अंगीकार गरी सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो ।
गैरसरकारी संघ-संस्थाहरूले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास र वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।
विशेष गरी विपद्का समयमा राहत, उद्धार र पुनर्स्थापनामा खेलेको भूमिका प्रशंसनीय छ।
जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखी कार्यक्रम र स्वयंसेवी भावनालाई आत्मसात् गर्दै अघि बढेमा गैरसरकारी संस्थाहरूको सान्दर्भिकता अझै बढ्नेछ भन्ने मेरो विश्वास छ ।
साथै, अन्तर्राष्ट्रिय विकास साझेदारहरूले पनि नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यकताअनुसार स्रोतसाधन परिचालन गर्नेछन् भन्नेमा म विश्वस्त छु ।
समाज कल्याण परिषद्को समन्वयकारी भूमिका अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बन्दै जाओस् भन्ने अपेक्षा गर्दछु ।
आज शुभारम्भ गरिएको डिजिटल सेवा प्रवाह प्रणालीले परिषद्का कामकारबाहीलाई छिटोछरितो, पारदर्शी र अनुमानयोग्य बनाउनेछ।
यसबाट गैरसरकारी संस्थाहरूको योगदानसम्बन्धी एकीकृत तथ्यांक तयार हुनेछ र विकास सहायता देशको लक्ष्य, प्राथमिकता तथा आवश्यकताअनुरूप परिचालित भए–नभएको अनुगमन गर्न सहज हुनेछ ।
राज्यले गैरसरकारी संघ-संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
समाज कल्याण परिषद् राज्यको सहयोगी, सामाजिक संघसंस्थाको छाता संस्था तथा स्वायत्त निकायका रूपमा अझ सुदृढ हुन आवश्यक छ ।
समाज कल्याण ऐनले दिएको जिम्मेवारीअनुसार नियमन, सहजीकरण तथा अनुगमन–मूल्यांकन कार्य प्रभावकारी बनाउन परिषद्लाई पर्याप्त पूर्वाधार, साधन र स्रोत उपलब्ध गराउनुपर्ने आवश्यकता छ । यसतर्फ सरकारका सम्बन्धित निकायहरूको पनि ध्यानाकर्षण होस् ।
अन्त्यमा, मलाई यस महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा परिषद् परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो प्रणाली विकास गर्न सघाउने संघसंस्थालाई पनि धन्यवाद दिन चाहन्छु ।

धन्यवाद।

२०८२ फागुन १२, ललितपुर