नेपालगन्ज, फागुन १३ । लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी रहेका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ । दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहेका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाविसमा नन्मिर्एका निर्मोही नेपालगन्जमा बसोवास गर्दै आएका थिए ।
परिवारका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
भेरी अस्पतालबाट मङ्गलबारनै निवासमा ल्याइएका निर्मोहीको साँझ ५ बजे निधन भएको थियो । मिर्गौला रोगबाटै पीडित उनकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो । वरिष्ठ गायक निर्मोहीको बुधबार दिउँसो सिधनियाघाट राप्ती नदीमा अन्तिम दाहसंस्कार हुने परिवारले जनाएको छ ।




प्रतिक्रिया