रौतहट, फागुन १३। रौतहटको वृन्दावन नगरपालिका वडा न–१, रमौली बैरियाकी २५ बर्सिया अमृता कुमारी चौधरी सङ्घर्ष र आत्मविश्वासको उदाहरण बनेकी छन् । पाँच सदस्यीय सानो परिवारमा रहेकी अमृता आफ्ना छोरा अनमोल चौधरी र छोरी निक्की चौधरीको उज्ज्वल भविष्यका लागि दिनरात मेहनत गरिरहेकी छन् ।
घर घडेरी बाहेक अन्य उल्लेखनीय सम्पत्ति नभएको परिवारमा श्रीमान् जलचन्द्र चौधरी श्रम गरेर परिवार धानिरहेका छन् । ६० बर्सिया वृद्ध सासु बसमतिया देवी चौधरीको हेरचाह, बालबालिकाको पढाइ र घर खर्चको व्यवस्थापनको जिम्मेवारी अमृताकै काँधमा रहेको छ । गाउँको बुहारी भएर अरूको खेतमा श्रम गर्न जाँदा उनले धेरै आलोचना र टीकाटिप्पणीको सामना गर्ने गरेकी छन् ।
‘पहिले गाउँमा काम गर्न जाँदा धेरै कुरा काटिन्थ्यो । मन दुख्थ्यो, तर हार मानेकी थिइनँ,” उनले भनिन्, “श्रमलाई नै आफ्नो शक्ति बनाउने निर्णय गरेकी थिएँ ।”
अहिले उनी आफ्नै घरमा १५ वटा बाख्रा पालेर आत्मनिर्भर बन्ने बाटोमा अघि बढिरहेकी छन्। निरन्तर सङ्घर्षकाबीच अमृताको जीवनमा पछिल्लो समय महत्त्वपूर्ण मोड आएको छ । अक्सफाम र कोइकाको आर्थिक सहयोगमा आरडिसी नेपालद्वारा सञ्चालित ‘इम्पावरिङ हर’ परियोजनामा आबद्ध भएपछि उनको सोच, आत्मविश्वास र दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ ।
महिला सशक्तीकरणमा केन्द्रित उक्त परियोजनाले आफूलाई आफ्नो क्षमता चिन्ने अवसर दिएको उनी बताउन्छिन । “पहिलेदेखि केही गर्ने चाहना थियो, तर बाटो देखाउने कोही हुनुहुन्नथ्यो । परियोजनामा जोडिएपछि नयाँ ऊर्जा पलाएको छ,” उनले भनिन्, “साथ र अवसर पाए अझै धेरै गरेर देखाउन सक्छु ।”
यसै सशक्तीकरणको परिणामस्वरूप अमृताले म्यादी प्रहरीमा आवेदन दिएकी थिइन् । गाउँकै बुहारी भएर म्यादी प्रहरीमा नाम निकालेपछि उनी गाउँमा चर्चाको विषय बनेकी छन् । मधेसमा परम्परागत रूपमा घुम्टो प्रथामा बस्ने बुहारीका लागि यस्तो भूमिकामा देखिनु सामान्य विषय होइन ।
“निर्वाचन प्रहरीमा फर्म भर्दा व्यापक टीकाटिप्पणी भएको थियो,” उनले स्मरण गरिन, “तर भर्ना भएपछि पहिले आलोचना गर्नेहरू नै अब खुल्यो भने म पनि भर्छु भन्दै आउनुहुन्छ ।”
उनका अनुसार मधेसमा इज्जत र प्रतिष्ठालाई विशेष महत्त्व दिइने सामाजिक परिवेशमा महिलाले घरबाहिर निस्केर जिम्मेवारी लिनु चुनौतीपूर्ण विषय मानिन्छ । तर अहिले उनको साहस र आत्मविश्वासको प्रशंसा हुन थालेको छ ।
अमृता कुमारी चौधरीको जीवन कथा केवल एक महिलाको व्यक्तिगत सङ्घर्षको कथा मात्र होइन । सही साथ, अवसर र मार्गदर्शन पाए ग्रामीण महिलासमेत समाज परिवर्तनको अगुवा बन्न सक्छन् भन्ने सशक्त सन्देश उनको यात्राले दिएको छ ।




प्रतिक्रिया