काठमाडौं–६ मा हिमाल शर्माले नजिते कसले जित्छ ?, नेकपाको हातमा मुलुकको बागडोर आउँदैछ : हिमाल शर्मा (भिडिओ–सहित)


काठमाडौं, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–६ का उम्मेदवार हिमाल शर्माले मतदाताहरुले आफूप्रति उत्साह देखाएको बताएका छन् । मतदाताले भदो २३ र भदौ २४ गतेको प्रवृत्ति नदोहोरियोस भनेर भनेको पनि उनले स्मरण गराएका छन् ।

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले आफ्नो पार्टी नयाँ परिवर्तनसहित अघि बढेको बताए । उनले नेकपा नै अहिले नयाँ दल भएको र चुनाव चिह्न तारा पनि नयाँ भएको बताए । उनले आफ्नो पार्टीले यसअघि भएका कमिकमजोरीलाई स्वीकार गरेर अघि बढेको र सुधारेर जाने प्रतिबद्धता जनाएको बताए । उनले नेकपाले मुलुकलाई समाजवादी क्रान्तिको दिशातर्फ अघि बढाउने बताए ।

उनले मुलुकको बागडोर सम्हाल्ने परिस्थिति नेकपाको हातमा आउने दाबी गरे । उनले भने,‘हामी कमजोर अवस्थामा प्रस्तुत भएका छैनौं । हामी सशक्त रुपमा अगाडि आएका छौं । कतिपय क्षेत्र हाम्रा एब्सुलुट क्षेत्रमा छन् । काठमाडौं क्षेत्र नम्बर ६ मा हिमाल शर्मा नजिते कसले जित्छ ? २० जना उम्मेदवार छौं, जनताले तुलोमा हालेर जोख्दै हुनुहुन्छ । मैले हार्नुपर्ने कारण के छ ?’