एमालेका रामेछापका उम्मेदवार माधव ढुंगेलको योजनामा के-के छन् ?


काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेको तर्फबाट रामेछापमा उम्मेदवारी दिएका माधव ढुङ्गेलले जिल्लाको समग्र विकासका लागि बहुआयामिक योजना सार्वजनिक गरेका छन् । उनले सडक, कृषि, पर्यटनदेखि डिजिटल पूर्वाधारसम्म समेटिएको समग्र विकासको खाका अघि सार्दै ‘समृद्ध रामेछाप’ निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार ढुङ्गेलले पालिका केन्द्रदेखि सबै वडासम्म कालोपत्रे सडक विस्तार गर्ने प्रतिबद्धता जनाए ।

उनले जिल्लाको रणनीतिक महत्त्व बोकेको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याई लुक्ला÷सगरमाथाको प्रवेशद्वार (गेटवे) का रूपमा विकास गर्ने योजना पनि अघि सारेका छन् । यसले पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै सुपरजोन कार्यक्रम लागू गर्ने र व्यावसायिक उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने योजना छ । ‘आफ्नै पानी, आफ्नै लगानी’ अवधारणाअन्तर्गत जलविद्युत विकासमा स्थानीय सहभागिता बढाइने प्रतिबद्धता पनि उनको प्रतिबद्धता छ ।