एसईई : परीक्षाको २४ दिनअघि प्रश्नपत्र तयार हुँदै, तीन तहको सुरक्षा घेराभित्र छपाइ सुरु


काठमाडौं, फागुन १४ । जनक शिक्षा सामग्री केन्द्रले आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ सुरु गरेको छ । आगामी विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छापेर प्रत्येक जिल्लामा पुगेसँग केन्द्रले प्रश्नपत्र छपाइ सुरु गरेको हो ।

प्रश्नपत्र छपाइ गर्न एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीसहित चार जनाको टोली जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा प्रवेश गरेका छन् । उक्त टोली प्रश्नपत्र छपाइ र ढुवानी नसकिन्जेल करिब १ महिना केन्द्रको आवासमा बस्नेछन् । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले हिजो बुधबारबाट परीक्षा नियन्त्रकसहित तीनवटै सुरक्षा निकाय केन्द्र प्रवेश गरेको जानकारी दिए ।

यो वर्ष ५ लाख २० हजार हजार विद्यार्थीका लागि प्रश्नपत्र छाप्ने र २६ दिनमा प्रश्नपत्र छपाइ गरी त्यहीँबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । अवको एक महिना भित्र ८१ जना सुरक्षाकर्मीको तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ । यस वर्षको परीक्षा चैत १९ गतेबाट सुरु हुनेछ । परीक्षा सुरु हुनु करिब २४ दिनअघि प्रश्नपत्र छपाइ सुरु भएको हो ।