काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर गएका छन्। त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा गएराति ११ः३० बजे सिंगापुर एयरलाइन्सको जहाजमार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।
देउवा स्वस्थ्योपचारका लागि सिंगापुर गएका हुन्। डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक विजयी भएका देउवा यसपटक भने चुनावमा सहभागी नहुने भएका छन् ।
देशभर चुनावी माहोल छाइरहेका बेला देउवा मध्यरातमा सुटुक्क सिंगापुर उडेपछि गृहजिल्ला डडेल्धुराका कांग्रेस समर्थकहरुको देउवा मतदान गर्न आउने अपेक्षासमेत समाप्त भएको छ । जेनजी आन्दोलनपछि कत्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पत्ति १८ दिनपछि स्वदेश फर्किएका थिए। देउवाले पहिलादेखि नै सिंगापुरमा स्वास्थ्य जाँच गराउँदै आएका छन् ।
कांग्रेसले देउवाको चुनावी क्षेत्र डडेल्धुरामा यसपटक नैनसिंह महरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो। २०४८ देखि ०७९ सम्म सातवटा संसदीय निर्वाचनमा देउवा अपराजित रहेको डडेल्धुरा कांग्रेसलाई यसपटक गढ जोगाउने चुनौती रहेको छ ।
कांग्रेसका उम्मेदवार महरले आफूलाई देउवाको राजनीतिक उत्तराधिकारीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका बेला डडेल्धुराको राजनीतिक माहोल भने सोचेअनुसार बनेको देखिँदैन। यसपटक देउवा स्वयं चुनावी मैदानमा नरहेपछि र मतदानका लागि जिल्ला नजाने भएपछि स्थानीय राजनीतिमा नयाँ तरंग देखिएको छ।
देउवा स्वास्थ्य र सुरक्षालाई कारण डडेल्धुरा मतदान नजाने भएपनि पार्टीभित्रको असन्तुष्टि र दूरीको संकेत रहेको छ । देउवा खुला रूपमा मैदानमा नदेखिँदा विपक्षले उठाएको नैनसिंह देउवाविरुद्धका उम्मेदवारी हुन भन्ने आशंकालाई थप बलियो बनाएको छ । डडेल्धुमा कांग्रेस र बीपी कांग्रेसबीच एकताको छलफल भए पनि ठोस निष्कर्ष आएको छैन।




प्रतिक्रिया