झापा, १४ फागुन । झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँनै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएका छन् । बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज–४ को बारसुदी टोल पुग्नुभएका पूर्वप्रधानमन्त्री ओलीको हातबाट टीका लगाई एमालेमा प्रवेश गर्दै उनीहरूले अब यो गाउँनै एमाले र अध्यक्ष ओलीलाई जिम्मा लगाएको बताए । यस गाउँमा रहेका ४५० मतदातामध्ये चारसय जना एमाले प्रवेश गरेका छन् । बाँकी ५० यस अघिनै एमाले रहेका थिए ।
एमालेमा प्रवेश गरेपछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका कोही पनि मतदाताले अब सूर्य बाहेक अन्यत्र मतदान नगर्ने र सबै एमालेको विजयको पक्षमा लाग्ने भन्दै विश्वास दिलाए । उनले भने–‘अब यो गाउँनै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईंको जिम्मा भयो ।’
ठूला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्की हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे अन्य भित्री सडकहरूको पनि स्तरीकरण, विद्युत सेवाको उपलब्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाइ छ ।
कृषि उपजलाई बजारसम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरी साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताए । पार्टी प्रवेश गर्ने मध्ये धेरै जसो रास्वपा परित्याग गर्ने रहेका छन् ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका एमाले अध्यक्ष ओली केही दिन यता गृहक्षेत्रमा व्यस्त रहेका छन् ।




प्रतिक्रिया