नेकपाको अपिल जारी, ‘हामीलाई व्यवस्था बदलेजस्तै देशको अवस्था पनि बदल्ने अवसर दिनुहोस’


काठमाडौं, १४ फागुन । नेपाली कम्युनिष्ट पार्टीको चुनावी अपिल सार्वजनिक भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहालको उपस्थितिमा उक्त अपिल सार्वजनिक गरिएको हो । अहिले मुलुकमा बाहृय हस्तक्षेपकारी गतिविधि भएको र त्यसबाट इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधिनमा नरहेको नेपालको स्वाधिनता र स्वाभिमानमा आँच आउनसक्ने खतरा महशुस भएको उल्लेख गरिएको छ ।

अहिलेको शासन प्रणालीविरुद्धका सबै षड्यन्त्रहरुलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउन र समाजवादी लोकतन्त्रको रुपमा विकास गर्न आफूहरुले चाहेको कुरा पनि अपिलमा राखिएको छ । नेकपाले व्यवस्था आफूहरुले बदलेको उल्लेख गरेको छ ।

अपिलको अन्त्यमा भनिएको छ,‘हामीले विगतमा अनेक प्रकारका क्रान्तिकारी संघर्ष सञ्चालन गरी मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन गरेका थियौं । त्यसैले भन्न सक्छौं कि व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौं । अरुले गफ गर्ने हुन, हामी काम गर्छौं । जसरी व्यवस्था बदल्यौं त्यसैगरि अवस्था पनि बदल्नेछौं । यो हाम्रो दृढ प्रतिज्ञा हो । यसमा हामी लागिपर्नेछौं । विगतमा हाम्रा पनि कतिपय कमी कमजोरी भए होलान । त्यसमा हामी आत्मालोचित छौं र कमीकमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौं । यहाँहरुसँग हाम्रो हार्दिक अपिल कि यसपटक तारा चुनाव चिह्नमा मतदान गरी हामीलाई व्यवस्था बदलेजस्तै देशको अवस्था पनि बदल्ने अवसर प्रदान गर्नुहोस । धन्यवाद ।’