काठमाडौं, फागुन १५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मगर एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा मगर समुदायको भूमिका विशिष्ट र महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् । नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता तथा सामाजिक रूपान्तरणको यात्रामा मगर समुदाय सधैं अग्रपंक्तिमा उभिएको इतिहास सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उनले बताएका छन् ।
प्रचण्डले विभिन्न जनआन्दोलन, जनयुद्ध तथा लोकतान्त्रिक संघर्षहरूमा श्रमजीवी वर्गका रूपमा मगर समुदायले देखाएको साहस, बलिदान र प्रतिबद्धताले आजको उपलब्धि सम्भव भएको उल्लेख गरेका छन् । उनले समावेशी राज्य व्यवस्था, पहिचानसहितको अधिकार र सामाजिक न्यायको लक्ष्य हासिल गर्न अझै संगठित, सचेत र एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
उनले राष्ट्रिय मगर एकता दिवसले समानता, सम्मान र समृद्धिको साझा यात्रामा नयाँ संकल्प र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै मगर समुदायको निरन्तर प्रगतिका लागि शुभकामना दिएका छन् ।




प्रतिक्रिया