काठमाडौं, १५ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा कहीँ कसैले धाँधली गर्न खोजे बुथ बुथ र वडा वडामा तयारी गर्नुपर्ने बताएका छन् । उनले भने,‘दुई अतिवादी चिन्तनलाई परास्त गर्ने जिम्मेवारी तपाई हाम्रो काँधमा छ । कहीँ कसैले धाँधली गर्न खोजे बुथ बुथ र वडा वडामा तयारी गर्नुपर्छ ।’ उनले भदौ २३ गते युवाहरुलाई दमन गर्ने र २४ गते विध्वंश गर्ने दुवै अतिवादका विरुद्ध नेकपा खडा भएको बताएका छन् । उनले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताए ।
आज (शुक्रबार) काठमाडौँमा भएको पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘भदौ २३ गते युवाहरूलाई दमन गर्ने र २४ गते विध्वंस गर्ने दुवै अतिवादका विरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ, यसकारण यो निर्वाचनलाई कसैले पनि सामान्य रूपमा लिनुहुँदैन ।’
दाहालले अहिलेको निर्वाचन लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिला, दलित, जनजाति, मधेसी मुस्लिमलगायतको अधिकारको रक्षा गर्ने सवालमा पनि फागुन २१ को निर्वाचनको महत्त्व रहेको बताए । उनले भने,‘अधिकारहरू माथिको धावा बोल्ने र बचाउनेहरूका बिचको लडाईंका रूपमा पनि यो निर्वाचन अगाडि आउँदैछ, त्यसकारण यो निर्वाचनलाई हामीले राष्ट्रको स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नका लागि जीवन मरणको सङ्घर्षका रूपमा अगाडि आएको छ ।’
उनले मुलुकमा अहिले देखिएका दुई अतिवादका विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गरेर नै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान दिने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी पनि गरे । सम्बोधनका क्रममा प्रचण्डले यदि स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न भए आफ्नो पार्टीलाई एक नम्बरको पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे ।
उनले भने,‘आज सबै राजनीतिक दल निर्वाचनमा होमिएका छन्, अब सर्वदलीय सरकार, संसद् पुनर्स्थापनाका कुरा हराए। यसमा नेकपाले लिड गर्यो। र देश नै नेकपाको लाइनमा आएको छ।’ निश्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपालाई पहिलो दल बन्न कसैले पनि नरोक्ने उनको तर्क छ । दाहालले पछिल्लो समय एमालेसँग १० सीटमा चुनावी तालमेल हुन लाग्यो भनेर प्रचार गरिएको भन्दै उक्त प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पारे ।




प्रतिक्रिया