कञ्चनपुरको समृद्धिका लागि मोवाइल चिन्हमा मतदान गर्न आजपा उम्मेदवार सीताको अपिल


कञ्चनपुर, १५ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं कञ्चनपुर–१ का उम्मेदवार सीता विकले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् । कञ्चनपुर सहित समग्र सुदुरपश्चिमको विकास र समृद्धिका लागि यसपटक मोबाइल छापमा मतदान गर्न उनले अपिल गरेकी छन् ।

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको ३ वटै क्षेत्रमा आजपाका उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् । कञ्चनपुर सहित सुदुपश्चिम प्रदेशको समृद्धि एवं विकासका लागि मोवाइल चिन्हमा मतदान गर्नुपर्ने अपिल उनीहरुले आम जनतासंग गरेका छन् ।

कञ्चनपुर–१ का उम्मेदवार सीता विक, कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरी र कञ्चनपुर–३ का उम्मेदवार लक्ष्मी कुमारी विष्ट भट्ट चुनावी भेटघाट एवं छलफलाई तिब्रता दिएका छन् । कञ्चनपुर सहित सुदुरपश्चिम प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले आम मतदातासंग भेटघाट, छलफल गरिरहेको आजपा नेता विक्रम बमले जनाएका छन् ।

समग्र सुदुरपश्चिमको विकासका लागि मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारलाई २१ फागुनको निर्वाचनमा मतदान गरेर बिजयी बनाउन बमले आग्रह गरेका छन् ।

‘कञ्चनपुर सहित समग्र सुदुरपश्चिमको विकासका लागि मैले आम जनता पार्टीको मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएको छु । विकसित र समृद्ध सुदुरपश्चिम बनाउने मेरो एजेण्डा छ । अरु नेताहरु कहाँबाट आए कहाँ गए । यहाँको जनताको भोट लिन्छन तर काम गर्दैनन । तर हामीले हाम्रो कञ्चनपुर, हाम्रो सदुरपश्चिमको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । आम जनता पार्टीले सुदुरपश्चिमको विकास गर्छ त्यसका लागि हामी सबैले मोवाइल चिन्हमा मतदान गर्नुपर्छ,’ कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरीले भने ।

कञ्चनपुर जिल्लाको ३ वटै क्षेत्रबा उम्मेदवारी दिएका उम्मेदवारले आफू बिजयी भए र आजपाको सरकार बनेपछि सुदुरपश्चिममै बिजुलीबती, खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधा निशुल्क बनाउने एजेण्डा पार्टीको रहेको जनाएका छन् । छोराछोरी, बृद्ध बाआमालाई विशेष सुविधा र युवाहरुलाई सुदुरपश्चिममै रोजगारको व्यवस्था गर्ने पहिलो जिम्मेवारी रहेको कञ्चनपुर–३ का उम्मेदवार लक्ष्मी कुमारी विष्ट भट्टले जनाएकी छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष प्रभु साहको पत्नी रिना साह रौतहटको मौलापुरमा मेयर हुनुहुन्छ । मौलापुरमा कुनै किसिमको सेवाको कर लाग्दैन, सबै फ्रि छ । खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी, सिँचाई सबै फ्रि छ । छोरीलाई गुणस्तरीय शिक्षा, विवाहमा ३० हजार नगद सहयोग हुन्छ । मौलापुरमा नगरप्रहरी होइन, त्यहाँ नगर शिक्षक र नगर डाक्टर छ । हामीले यो सबै सेवा सुविधा कञ्चनपुर सहित सुदुरपश्चिममा लागु गराउनका लागि मोवाइल छापमा मतदान गर्नुपर्छ,’ कञ्चनपुर–१ का उम्मेदवार सीता विकले भनिन् ।

कञ्चनपुर जिल्लाको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै चौधरीले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

‘अब की बार आजपा सरकार’ भन्दै चौधरीले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैले मोवाईलमा मतदान गर्न अपिल समेत गरेका छन् ।

स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि यसपटकको निर्वाचनमा सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर अगाडी बढनुपर्ने उनले बताए ।