पोखरा, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’
सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको जानकारी दिए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरुलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, उनले भने ।
उनले थपे, ‘देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेसबाहेक अरुले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ ।’
सभापति थापाले कांग्रेसबाहेक अरुले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे । उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको र कांग्रेसलाई मत हाल्नु पर्ने कारण धेरै रहेको बताए ।
अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने उनले अठोट व्यक्त गरे । सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरे । आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने उनको अठोट छ ।
सभापति थापाले कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानूनी तथा संस्थागत व्यवस्था गर्ने जानकारी दिए । उनले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी नगर्ने स्पष्ट पारे ।







प्रतिक्रिया