कार र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, अर्का युवक गम्भीर घाइते


काठमाडौं, फागुन १६ । झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।गएराति बिर्तामोड नगरपालिका ४ कञ्चनजङ्घा स्कुल छेउमा भएको दुर्घटनामा झापाकै मेचीनगर नगरपालिका १३ चारआली बस्ने २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको हो ।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी पौडेल गम्भीर घाइते भएका थिए । पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।