अफगान आक्रमणमा अमेरिकाको समर्थन


इस्लामाबाद, १६ फागुन । अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ । यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ ।

पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको जनाएको छ । पाकिस्तानका सूचनामन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई लक्ष्य बनाइएको छ । प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले ‘आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया जारी रहेको’ बताएका छन् । रातभर थप आक्रमण भएको विषयमा स्पष्ट पुष्टि नभए पनि कारबाही जारी रहेको सङ्केत अधिकारीहरूले दिएका छन् ।

अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले आफ्नो पाकिस्तानी समकक्षीसँगको वार्तापछि सामाजिक सञ्जालमार्फत पाकिस्तानको आत्मरक्षाको अधिकारप्रति समर्थन व्यक्त गरेका हुन् । यसैबीच तालिबान सरकारले आतङ्कवादीलाई शरण दिएको आरोप अस्वीकार गर्दै द्वन्द्व समाधानका लागि वार्ताको आह्वान गरेको छ ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले ५५ पाकिस्तानी सैनिक मारेको र अन्यलाई पक्राउ गरेको दाबी गरेका छन् भने १३ अफगान सैनिकको मृत्यु भएको बताएका छन् । पाकिस्तानतर्फबाट २९७ अफगान तालिबान लडाकू मारिएको दाबी गरिएको छ । यसअघि इस्लामाबादले आफ्ना १२ सैनिक मारिएको जनाएको थियो । अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले खोस्त र पक्तिका प्रान्तमा कम्तीमा १९ सर्वसाधारण मारिएको बताएका छन् । दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।

विश्लेषकहरूका अनुसार यसपटक पाकिस्तानले पहिलोपटक अफगान सरकारी संरचनामै हवाई आक्रमण केन्द्रित गरेको देखिएको छ, जुन अघिल्ला कारबाहीभन्दा कडा परिवर्तन हो । दुई देशबीचको सम्बन्ध पछिल्ला महिनामा तीव्र रूपमा बिग्रिएको छ । अक्टोबरको झडपमा ७० भन्दा बढीको ज्यान गएपछि सीमा नाका प्रायः बन्द अवस्थामा छन् ।

इस्लामाबादले तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहहरूलाई नियन्त्रण गर्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ । जैदीले सीमा क्षेत्रमा राति ठूलो झडप नभए पनि खोस्त नजिकै पाकिस्तानी चौकीमा आक्रमण भएको जानकारी दिएका छन् ।

तनाव बढेसँगै चीन, बेलायत, संयुक्त राष्ट्रसङ्घ, रेडक्रस, इरान, साउदी अरेबिया र कतारले संयमता र वार्तामा फर्कन आह्वान गरेका छन् । जेनेभामा रेडक्रस प्रमुख मिर्जाना स्पोल्जारिकले मानवीय सहायता तयारी अवस्थामा रहेको तर दीर्घकालीन समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन् ।

गत वर्ष कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन सकेको थिएन । हालको घटनाक्रमले दुई छिमेकीबीचको अविश्वास अझ गहिरिएको सङ्केत गरेको छ । यसको प्रभाव क्षेत्रीय स्थिरतामा पर्ने चिन्ता बढेको छ । रासस