मध्यपूर्वमा रहेका नेपाली र तिनका परिवारको छटपटी सम्झेर बेचैन ओली निदाउन सकेनन्, भने-‘कुनै पनि आवरणमा मिसाइलको धुँवा नेपाल प्रवेश नगरोस्’


काठमाडौं, फागुन १७ । नेकपा (एमालें) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस भन्ने कामना गरेका छन्। मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गर्दै उनले यस्तो कामना गरेका हुन्।

मध्यपूर्वमा भएका लाखौं नेपालीहरू आपत र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ। ‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृष्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्,’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखका छन् ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।’

अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरि आउनु जानु स्वाभाविक भएको अध्यक्ष ओलीको भनाइ छ। ‘अस्वाभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो,’ अध्यक्ष ओलीले भनेका छन्, ‘ति देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने।’

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीको प्रार्थना गर्दै भनेका छन्, ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस्। आज तपाईंहरूलाई छटपटी भइरहँदा म निदाउन सकिनँ। बेचैन छु।’

ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन्। ‘यस बेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ। विवेक, धैर्य र साहस–कामना गर्छ ।’ अध्यक्ष ओलीले लेखेका छन्।