काठमाडौं, फागुन १७ । इरानको सरकारी सञ्चार माध्यमले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ। इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको पुष्टि गरेको हो।
आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले खामेनेईको मृत्युपछि मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरेका छन् । खामेनीको निधनसँगै इरानका सरकारी कार्यालयहरूमा झण्डा झुकाइने र विभिन्न श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जनाइएको छ। अब उनको स्थानमा को सर्वोच्च नेता हुन्छ भन्ने आधिकारिक घोषणा गरिएको छैन ।
शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेका थिए। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै शक्तिशाली विस्फोटका आवाज सुनिएको र धुवाँ उडेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
आक्रमणपछि राष्ट्रपति ट्रम्पले इरानी नागरिकलाई सत्ता आफ्नो नियन्त्रणमा लिने अवसर आएको टिप्पणी गरेका थिए, जसले क्षेत्रीय राजनीतिक तनाव थप चुलिएको विश्लेषण गरिएको छ।.
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गरेका थिए। उनले एक सन्देश जारी गर्दै इरानी जनताले न्याय पाएको बताउँदै आक्रमणमा खामेनीको मृत्यु भएको बताएका छन् ।




प्रतिक्रिया