नैनसिंहलाई देउवाको उत्तराधिकारी भन्न भ्याइनभ्याई, विपक्षको नाराः नैनसिंहलाई हराउनु नै देउवाको जित


काठमाडौं, फागुन १७ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा नेपाली कांग्रेस जुटेको छ । विसं २०४८ देखि कांग्रेसले लगातार जित्दै आएको डडेल्धुरामा यस पटकको पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नहुँदा गढ जोगाउन प्रयासमा कांग्रेस जुटेको हो ।

विसं २०७९ सम्म सात पटक यहाँबाट निर्वाचित हुँदै मुलुकको कार्यकारी पद प्रधानमन्त्रीदेखि कांग्रेसको सभापति भएका पूर्वसभापति देउवा आसन्न निर्वाचनको दौडमा नहुँदा निर्वाचनको मैदानमा रहेका प्रतिस्पर्धी आ–आफ्नो पक्षमा नतिजा पार्न सक्रिय भएका छन् ।

कांग्रेसका युवानेता नैनसिंह महरले देउवा निर्वाचनमा सहभागी नहुनुका कारण बताउँदै मतदाताको मन जित्ने र जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । जेनजी आन्दोलनमा देउवा दम्पत्ति माथिको आक्रमण, त्यसपछि पार्टी सभापति नहुनु लगायत विषयले देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीलाई चुनौती थपिएको जानकारहरू बताउँछन् ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापतिसमेत भइसकेका हालका उम्मेदवार महरलाई देउवाले लगातार जित्दै आएको डडेल्धुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने चुनौती छ । तर, कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार महरले आफूलाई देउवाको राजनीतिक उत्तराधिकारीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका बेला डडेल्धुराको राजनीतिक माहोल भने सोचेअनुसार बनेको देखिँदैन।

कांग्रेस समर्थकलाई उम्मेदवार महरले आफुनै देउवा उत्तराधिकारी भएकोले आफुलाई भोट दिन घरदैलोदेखि आमसभासम्म बोल्दै हिनेका छन् । यता विपक्ष उम्मेदवार रास्वपा तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार र कांग्रेस उम्मेदवारप्रती असन्तुष्टि कांग्रेस समर्थकहरु “महरलाई हराउनु नै देउवाको जित” भन्ने नारा नै अघि सारेको चर्चा छ।

देउवाकै पकड भएको ठाउँ भएकाले यस क्षेत्रमा कांग्रेसले सहजै जित निकालिने आकलन गरिन्थ्यो तर यस पटक भने फरक अवस्था रहेको छ । देउवा उपचारका लागि सिंगापुर उडेका छन् । उनी मतदान गर्न डडेल्धुरा नजाने भएका छन् । कूल ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।