प्रचण्डको भिडिओ सन्देश जारी


काठमाडौं, १७ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भिडिओ सन्देश जारी गरेका छन् । उनले २१ फागुनको निर्वाचनलाई ध्यानमा राखेर दाहालले आफ्नो पार्टीको भूमिका कस्तो थियो भन्ने कुरा जनताले मूल्यांकन गरेको बताए । सरकारको नेतृत्वमा हुँदा आफूहरुले सुशासन अभियान थालेको पनि दाहालले स्मरण गराए ।

उनले भने,‘सरकारको नेतृत्वमा हुँदा हामीले सुशासन सुरु गर्यौं, व्यक्तिको होईन विधिको शासन स्थापित गर्ने प्रयास गर्यौं । ठूला ठूला गिरोह र शक्ति सम्मिलित भ्रष्टाचारका काण्डहरु उजागर गर्यौं । त्यही सुशासनबाट डराएको माफियाले संसारमै नभएको संसद्मा पहिलो र दोस्रो पार्टीलाई मिलायो । तर, प्रतिपक्षमा पनि हामीले कुशासनविरुद्ध लडेका थियौं । कसरी दम्भ र अहंकारलाई खबरदारी गर्यौं । हामीले सडक र सदन दुवैबाट खबरदारी गरिनैरह्यौं ।’

सरकारमा बस्दा कांग्रेसले सबै कुरा गरेको र जुन कुरा जनताले नचाहेको पनि दाहालको आरोप छ । कांग्रेस र एमालेको कुशासनको काँध चढेर देश ठूलो अराजकतातर्फ गएको उनको टिप्पणी छ । उनले आज नेकपा आन्दोलनको पूनर्गठनमा रहेको विश्वास दिलाए । उनले यो नेकपा समग्र वाम आन्दोलनको पूनर्गठन भएको जिकिर गर्दै यही दल नै नेपालको मूल प्रवाह बन्ने दाबी गरे ।

वाम आन्दोलनको मूल्यको रक्षाको लागि एमालेपनि आन्दोलनमा मिसिने र अर्को कुनै बाटो नभएको दाहालको जिकिर छ । उनले आफू वाचा गर्नमात्रै नभएर हिजो गरेको कामको आधारमा मत माग्न आएको स्पष्ट पारेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन प्रयास गरेको पनि उनले आफ्नो भूमिकाको स्मरण गराए ।