देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि देखिए : योगेश भट्टराई


दमक, १८ फागुन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले)को जित आवश्यक रहेको बताएका छन् । झापा– ५ को दमकमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विकसित चुनौतीहरूको सामना गर्नसक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरूरी रहेको बताए ।

चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उनले त्यस्ता पात्रहरूका कारण देश मियो बिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरूरी रहेको बताए । देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै उपमहासचिव भट्टराईले उनीहरूमा जिते छाती पिट्ने र हारे निराश हुनेबाहेक कुनै उद्देश्य नरहेको बताए । जेनजी आन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेतर्फ थोपर्न खोजिएको भन्दै उनले उक्त आन्दोलनमा देश ध्वस्त बनाउने कार्यमा संलग्नहरू चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गरे ।