काठमाडौं, १८ फागुन । आम जनता पार्टीका रौतहट–४ का उम्मेदवार ऋषिराज धमलाले चुनावी अभियानको क्रममा जनताले आफ्नो उम्मेदवारीलाई लिएर खुशी साटेको र परिवर्तन चाहेको बताएका छन् । जनताले आफूलाई राम्रो प्रतिक्रिया दिएको र चुनाव जित्नेमा पूर्ण आशावादी रहेको पनि धमलाको भनाई छ ।
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा धमलाले आफूले सुरुदेखि नै भ्रष्टाचारको विरोधमा चालेको अभियानलाई जनताले समर्थन गरेको विश्वास दिलाए । उनले भने,‘मलाई जनताले एकदमै माया गर्नुभएको छ, एक भोट मोवाइल चिह्नमा दिने भन्नुभएको छ । मेरो जित सुनिश्चित् छ । म चुनावी अभियानमा घरघरमा पुग्दा जनताले पीडा बुझ्ने मान्छे आएको भनेर खुशीको आँशु झार्नुभएको छ ।’
आफ्नो चुनावी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको लागि सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसको लागि आफूले काम गर्ने धमलाको भनाई छ । उनले भने,‘यहाँका विरामीका उपचारको लागि अहिले हेटौंडा, वीरगञ्ज र काठमाडौं जानुपर्ने बाध्यता छ । अब म यही क्षेत्रमा मेडिकल कलेज बनाउनको लागि पहल गर्नेछु ।’
शिक्षामा पनि उस्तै समस्या रहेको भन्दै गुणस्तरीय शिक्षाको लागि पनि आफूले काम गर्ने उनको भनाई छ । अहिले पनि गरिब र धनीको बीचमा ठूलो खाडल रहेको भन्दै त्यो हटाउनको लागि काम गर्ने धमलाले बताए । किसानको हितको लागि पनि काम गर्ने र समयमै मलखादको लागि पहल गर्ने पनि धमलाको प्रतिबद्धता छ । जनताको मनमा बस्नसक्ने व्यक्ति आएको भनेर आफ्नो उम्मेदवारीलाई लिएर स्वागत गरेको धमलाको भनाई छ ।
माओवादी शान्ति प्रक्रियामा आउँदादेखि गत भदौ २३ गतेको जेनजी आन्दोलनलाई सेफ–ल्याण्डिङ गर्न आफूले भूमिका खेलेको पनि उनले स्मरण गराए । उनले आफू साझा व्यक्तित्वको रुपमा चुनावी मैदानमा खडा भएको बताए । जेनजी आन्दोलनपछिको अस्तव्यस्त अवस्थामा आफूले खेलेको भूमिकालाई लिएर जनताले संविधान बचाएको हो भनेर प्रशंसा गरेको पनि उनले सुनाए । अब युवाले आफूलाई संसद्मा भूमिका खेलेको हेर्न चाहेको बताए ।
आफूले पत्रकारिताको माध्यमबाट मधेशका किसानको हितमा काम गरेको, उखु किसानको आन्दोलनमा साथ दिएको, मिटरब्याज पीडितको लागि न्याय माग्न साथ दिएको, लघुवित्त पीडितको लागि पनि साथ दिएको धमलाले स्मरण गराए । उनले आफूले रौतहटमा बस्ने निर्णय गरिसकेकोले अब यो भूमि नछोड्ने बताए । रौतहट–४ लाई देशकै विकास र समृद्धिको नमूना क्षेत्र बनाउने पनि उद्घोष गरेका छन्। उनले भने,‘अब एकपटक विकासको मोडेल हेर्न रौतहट–४ जानुपर्छ भन्ने पार्नेछु । म रौतहटवासीको मन र मुटुमा बस्न चाहन्छु ।’




प्रतिक्रिया