काठमाडौं, १८ फागुन । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आफूहरुलाई भीडभन्दा बढि उत्तरदायित्व र नामभन्दा बढि सच्चा नेतृत्व चाहिएको बताएका छन् । शेर्पाले कुनै पनि आन्दोलन रिस, ट्रेन्ड वा हल्लाले मात्रै नबाँच्ने भन्दै त्यो त विश्वासले बाँच्ने बताएका छन् ।
उनले भनेका छन्–‘जेनजीको नाममा उठेको आवाज हाम्रो पुस्ताको आशा थियो — परिवर्तनको सपना थियो। तर जब नेतृत्व स्पष्ट देखिँदैन, जब प्रश्नहरू अनुत्तरित रहन्छन्, तब मन अलि दुख्छ । हामी कसैलाई आरोप लगाउन खोजिरहेका छैनौँ। तर यति चाहन्छौँ — यदि आन्दोलनमा केही अन्योल भयो भने, खुलेर भनौँ। यदि कसैले बाटो मोड्यो भने, साँचो स्वीकारौँ। किनकि आन्दोलन हाइज्याक भयो कि भएन भन्नेभन्दा पनि ठूलो कुरा भनेको हामीबीचको भरोसा हो ।’
उनले युवा शक्ति कसैको लुकेको योजना नभएर त्यो त आफूहरुको साझा भविष्य भएको बताएका छन् । उनले भनेका छन्–‘हामीलाई नाराभन्दा बढी स्पष्टता चाहिएको छ, भीडभन्दा बढी उत्तरदायित्व, र नामभन्दा बढी सच्चा नेतृत्व। र त्यसै सन्दर्भमा — डिस्कर्ड समूहका मुख्य एड्मिन : Mixon Limbu सँग खुलेर बस्न, चिया पिउँदै यी सबै प्रश्नहरूको इमानदार जवाफ खोज्नैपर्छ। उहाँ आफैले पनि आन्दोलन “हाइज्याक भएको” संकेत गर्नुभएको छ भने, त्यसको वास्तविकता के हो, कसरी भयो, र अब बाटो के हो — यो कुरा स्पष्ट रूपमा साझा गरिनु जरुरी छ। संवादबाट भागेर होइन, संवादमै बसेर समाधान खोज्नु नै सच्चा नेतृत्वको चिन्ह हो। सत्य बोल्दा आन्दोलन सानो हुँदैन—अझ बलियो हुन्छ।’




प्रतिक्रिया