काठमाडौं, १८ फागुन । रौतहट–४ का आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासको लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी अभियानको क्रममा आज मंगलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले क्षेत्रमा रहेका सबैखाले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।
यो चुनावी अभियानभरि गाउँ गाउँमा डुल्दा जनताले आफूलाई अपार माया र सम्मान गरेको भन्दै त्यो सम्मान र विश्वासलाई कहिल्यैपनि धोका नदिने धमलाले प्रण गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुकुम्बासी समस्या जसरी पनि समाधान गर्ने घोषणा गरे । यस्तै, शुद्ध पिउने पानी खुवाउने र जनतालाई बाढी तथा डुबानबाट सुरक्षित राख्न पहल गर्ने विश्वास दिलाए ।
उनले आफू देश बनाउने अभियानमा सक्रिय राजनीतिमा होमिएको पनि प्रष्ट पारे । देशव्यापी रुपमा भ्रष्टाचार नियन्त्रणको लागि मिडियामा हुँदा अभियान चलाएको पनि उनले स्पष्ट पारे । सुशासन कायम गर्ने र विकास र समृद्धिको बहार ल्याउने नै आफ्नो मुख्य एजेण्डा रहेको धमलाको भनाई छ । उनले रौतहटको विकास नगरेसम्म आफूले विश्राम नलिने पनि घोषणा गरे ।




प्रतिक्रिया