आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्नुहुन्छ? के हुँदैन?


काठमाडौं, फागुन १९ । नेपालमा आज राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो ।

चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७ः०२ बजेसम्म रहनेछ । ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने छ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा देख्न सकिने छ । चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाँले चन्द्रमा ढाकिँदा चन्द्रग्रहण हुन्छ । पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा परे पनि चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको हुने भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन ।

ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन?

शास्त्रीय मान्यता अनुसार ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ भने बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने जनविश्वास छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।