काठमाडौं, १९ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिनको अनुगमनका लागि देशैभर अनुगमन टोली खटाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको छ ।
यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको पनि जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल पनि हो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ । मौन अवधि सुरु भैसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियालाई सघाउन र सहभागी हुन आयोग सम्पूर्ण राजनीतिक दललाई समेत आग्रह गर्दछ ।’
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यस कार्यलाई सघाउनु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य भएको स्मरण गराएको छ । उसले भनेको छ,‘निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलार्ई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । राजनीतिक दल तथा अन्य कसैले पनि मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र संभावित अवाञ्छित क्रियाकलापलाई रोक्न आयोग नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दछ ।’
निर्वाचनको अवधिमा स्वास्थ्यसेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरुका लागि सवारी साधन तथा हवाई उडान जस्ता अत्यावश्यक सेवाहरुलाई सुचारु रुपले सञ्चालन गर्न गराउन समेत आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको छ ।




प्रतिक्रिया