जुम्ला, १९ फागुन । राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको छ । बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको उक्त सडक यस वर्ष नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यही फागुन १७ गते सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरिएको हो । यसका लागि कुल ९१ करोड ६६ लाख बजेट स्वीकृत भइसकेको छ । ठेक्का प्रक्रियाबाट स्वीकृत प्रस्तावअनुसार लागत निर्धारण गरिने छ ।
नाग्मदेखि देवारगाउँसम्मको १५ किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्र, विशेषगरी अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग हुने भएको छ । नाग्म–गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको कार्यालय प्रमुख महताराको भनाइ छ ।
चार वर्षअगाडि यहाँको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब ६ किलोमिटर मात्र कालोपत्र गरिएको थियो । बजेटको सुनिश्चिता नहुँदा नाग्म–गमगढी सडक स्तरवृद्धि हुन सकेको थिएन । अब बजेटको सुनिश्चित भएसँगै कालोपत्रको कामलाई तीव्र गतिमा अगाडि बढ्ने प्रमुख महताराले बताए । नाग्म–गमगढी सडक स्तरवृद्धि नुहँदा राराताल आउने पर्यटकलाई सास्ती हुने गरेको थियो । रासस




प्रतिक्रिया