मतदान गर्न जाँदा के–के कागजात लैजाने?


काठमाडौं, फागुन २१ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले आवश्यक पहिचान पुष्टि हुने कुनै पनि मान्य सरकारी कागजात प्रस्तुत गरी मतदान गर्न सक्ने जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ का सम्बन्धित व्यवस्थाअनुसार मतदानका लागि जाँदा मतदाता परिचयपत्र साथमा लिनुपर्ने प्रावधान रहेको भए पनि सो परिचयपत्र उपलब्ध नभएको अवस्थामा छ वटा अन्य वैकल्पिक कागजात प्रयोग गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ।

यसअनुसार नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सकिनेछ। तर यस्तो सुविधा केवल मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका लागि मात्र लागू हुने छ।

मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ। त्यसपछि मतदातालाई पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ। गोप्य मतदान कक्षमा गएर आफूलाई मन परेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नुपर्नेछ।

प्रत्यक्षतर्फ मतदान गरेलगत्तै मतदातालाई समानुपातिकतर्फको मतपत्र उपलब्ध गराइने छ । जसमा आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई अर्को मतपेटिकामा खसाल्नु पर्नेछ।