काठमाडौं, २३ फागुन । रास्वपाले केन्द्रीय अनुशासन आयोगले निर्वाचनको यस घडीमा पार्टीका विभिन्न पंक्तिहरुबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा अनावश्यक टिकाटिप्पणी गर्ने जस्ता गतिविधिहरू बढेको महशुस भएको हुँदा त्यस्ता अवाञ्छित कार्यहरू नगर्न तथा नगराउन पार्टीपंक्तिहरूमा निर्देशन जारी गरेको छ ।
आज आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक अपिल जारी गरेर यस्तो भनेका हुन् । अपिलमा भनिएको छ,‘जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिको जगमा मिति २०८२ फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको जनादेशको गम्भीरतापूर्वक मनन गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जनादेशलाई विजय उन्मादको रुपमा नलिई जिम्मेवारीप्रति पूर्ण बफादार रहदै जवाफदेहीपूर्ण कार्य सम्पादन गर्नु हाम्रो कर्तव्य हुन आउँछ । निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय धैर्यधारण गर्नुपर्ने नै देखिन्छ। यसै सन्दर्भमा सम्पूर्ण पार्टीपंक्तिका जिम्मेवार सदस्यहरुलाई धैर्यतापूर्वक अन्तिम परिणामको प्रतिक्षा गर्न आयोग हार्दिक अनुरोध गर्दछ ।’
आयोगले निर्वाचनको यस घडीमा पार्टीका विभिन्न पंक्तिहरुबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा अनावश्यक टिकाटिप्पणी गर्ने जस्ता गतिविधिहरू बढेको महशुस भएको हुँदा त्यस्ता अवाञ्छित कार्यहरू नगर्न नगराउन सम्पूर्ण पार्टीपंक्तिहरूमा आयोगले ध्यानाकर्षणसहित निर्देश गरेको उल्लेख गरेको छ । विज्ञप्तिमा थप भनिएको छ,‘त्यस्ता गतिविधिहरू भए गरेको कहींकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा आवश्यक कारबाही हुनेतर्फ आयोगले सम्पूर्णमा सचेत गराउँदछ। लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सभ्य र अनुकरणीय राजनीति गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । निर्वाचनको शान्तिपूर्ण सम्पन्न हुने अन्तिम घडितर्फ अगाडि बढिरहेकोप्रति सम्पूर्ण सरोकारवालामा यस आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ। पार्टीको आधिकारिक निर्देशन बेगर कुनैपनि कार्य नगर्न नगराउन समेत पार्टीपंक्ति लगायत सम्पूर्णमा हार्दिक अपिल गर्दछ । धन्यवाद ।’





प्रतिक्रिया