काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । उनी २४ हजार ३३२ मतसहित विजयी भएका छन् । उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।
त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरेका छन् ।
बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गरे । त्यसैगरी एमालेका बचनबहादुर सिंहले छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गरे । त्यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो ।
त्यसैगरी कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् । त्यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरे । कञ्चनपुर ३ मा कुल ५८ हजार ३६१ मत खसेको थियो ।




प्रतिक्रिया