यसपटक संसदमा देखिने छैनन् चुनाव हारेका यी आठ जना पूर्वस्वास्थ्यमन्त्री, कसलाई कसले हरायो?


काठमाडौं, फागुन २५ । विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित भएका छन् ।

पराजित हुनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापा, पूर्वउपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, शेरबहादुर तामाङ, पदम गिरी र प्रदीप यादव रहेका छन्। सर्लाही–४ बाट उम्मेदवार दिएका पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहले १२ हजार ८५७ मतान्तरले पराजित गरेका छन् ।

यसै गरी सप्तरी–३ बाट उम्मेदवारी दिएका पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीसँग पराजित भएका छन् । नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेल काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले पराजित गरेका छन् । यस्तै पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तेह्रथुम–१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले झिनो मतान्तरबाट पराजित गरेका छन् ।

यसअघि दुई पटक स्वास्थ्यमन्त्री बनिसकेका गिरिराजमणि पोखरेल पनि यस पटक पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट महोत्तरी–१ मा उम्मेदवार बनेका पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतोले पराजित गरेका हुन् ।

यसै गरी पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पर्वत–१ बाट पराजित भएका छन् । गिरीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालले पराजित गरेका हुन् । यस निर्वाचनमा पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव पराजित भएका छन् । पर्सा–१ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका यादवलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तले पराजित गरेका हुन्। । सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलालले हराएका छन् ।